काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शीर्ष नेताको बैठक बसेको छ । शुक्रबार विहान ८ बजेदेखि पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसिरहेको छ ।
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, नेताहरु बलबहादुर केसी, डा.शेखर कोइराला, दिलेन्द्र बडू र मिनेन्द्र रिजाल सहभागी छन् ।
आफूपक्षीय जिल्ला सभापतिहरूले तीन बुँदे माग राखेर पार्टी मुख्यालय सानेपामा गरेको रिले अनसन र १४ औं महाधिवेशनका विषयमा छलफल भइरहेको सिंहनिकट एक नेताले जानकारी दिए ।
जिल्ला सभापतिहरूले १४ औँ महाधिवेशनको मतदाताको नामावली सार्वजनिक गर्नुपर्ने माग राखेका छन् । कांग्रेसले किहीबार मात्र ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ ।