नेकपा एमाले विभाजन भएसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य दुवैको कुर्ची धरापमा परेको छ ।
एकता जोगाइराख्ने प्रयोजनका निम्ति एमालेले माधवकुमार नेपाल पक्षमा रहेका दुवै नेताहरूलाई मुख्यमन्त्री बनाएको थियो । नेता नेपालले काठमाडौँमा नयाँ दल दर्ता गरेकै दिन बागमतीमा शाक्य मुख्यमन्त्री बनेकी थिइन् । भने प्रदेश १ मा आचार्यलाई बिहीवार फास्ट ट्रयाकमा मुख्यमन्त्री बनाइएको थियो ।
दुवै मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । यसअघि दुवै प्रदेशमा साविक एमालेको बहुमत थियो तर विभाजनपछि शाक्य र आचार्य स्पष्ट अल्पमतमा देखिएका छन् । एमालेभित्रको अन्तरसंघर्षमा यसअघि शाक्य र आचार्य दुवैले नेता नेपाललाई साथ दिएका थिए ।
मुख्यमन्त्री बन्न पाउने भएपछि दुवैले अन्तिम अवस्थामा नेता नेपालाको साथ छोडेका छन् । तर दुवै प्रदेश सभाको अंकगणितले उनीहरू स्पष्ट अल्पमतमा परेका छन् ।
यद्यपी सरकारले ल्याएको दल विभाजन खुकुलो बनाउने अध्यादेशमा २१ दिनभित्र प्रदेश र स्थानीय जनप्रतिनिधिले आफ्नो दल रोज्न पाउने प्रावधान राखिएको छ । दुवै मुख्यमन्त्री नेकपा एकीकृत समाजवादी पार्टीमा खुले भने सत्ता गठबन्धनको आडमा पद जोगाउन सक्ने सुविधा छ ।
यस्तो छ बागमतीको अंकगणित
बागमती प्रदेशसभामा रहेका जम्मा १ सय १० सांसदमध्ये पशुपति चौलागाईको निधन भएको छ । १०९ मध्ये एमालेका ५६, माओवादी केन्द्रका २३, कांग्रेसका २२, विवेकशील साझाका ३, नेपाल मजदूर किसान पार्टीका २, राप्रपाका २ र एकजना स्वतन्त्र सांसद छन् ।
प्रदेश सभामा बहुमतका लागि ५५ सांसदको आवश्यकता पर्छ । तर नेता नेपाल नेतृत्वको समाजवादी पार्टीमा राजेन्द्र पाण्डे र मुनु सिग्देल सदस्य बनिसकेका छन् । बसन्त मानन्धर र कृष्णप्रसाद खनाल पनि नयाँ दलमा लागेका छन् ।
२ जना मात्र सांसद नयाँ दलमा लाग्दा पनि अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्छिन् । केही दिनअघि उनले आफू माधव नेपालकै सल्लाहमा मुख्यमन्त्री बनेको अभिव्यक्ति पनि दिएकी थिइन् ।
नेता नेपालले समेत शाक्यलाई मुख्यमन्त्री बन्न आफूले सल्लाह दिएको खुलासा गरिसकेका छन् । २१ दिन भित्र उनी एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने नेपालनिकट एक नेताले दाबी गरेका छन् ।
‘उहाँ स्पष्ट अल्पमतमा परिसक्नुभएको छ,’ उनले भने, ‘अब उहाँसँग कि त कुर्ची छाडिदिने, कि त हाम्रो पार्टी रोज्नेबाहेक अर्को विकल्प छैन । हाम्रो अध्यक्ष कमरेडले सल्लाहमै उहाँलाई मुख्यमन्त्री बनाउनुभएको हो भने उहाँ यतै आउनुहुन्छ । गठबन्धनको सहायताले उहाँ मुख्यमन्त्रीको थप कार्यकाल चलाउनुहुन्छ ।’
प्रदेश १ मा आचार्य तनावमा
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई एमालेको अल्पमत हुँदाहुँदै पनि मुख्यमन्त्री बनाइएको थियो । बिहीवार फास्ट ट्रयाकमा संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएर आचार्यलाई नियुक्त गरियो । त्यसको आधा घण्टामै उनले मुख्यमन्त्रीको सपथ लिएका थिए ।
बिहीवार नै निधन भएका आचार्यका उनका भाइ रामप्रसाद आचार्यको अन्तेष्टि पनि भएको थिएन । सुनसरीको इनरुवास्थित आफ्नै घरमा यता भाइ मृत फेला परेका थिए भने उता दाइले मुख्यमन्त्रीको सपथ लिइरहेका थिए ।
आचार्य तेस्रोपटकको प्रयासमा मुख्यमन्त्री बनेका हुन् । प्रदेश सरकार गठन हुनुभन्दा अगाडि आचार्यलाई २ मतले हराउँदै राई संसदीय दलको नेता बनेका थिए । मुख्यमन्त्री बन्ने पहिलो मौका आचार्यले पहिल्यै गुमाइसकेका थिए । त्यसपछि तत्कालीन नेकपा विभाजन हुँदा आचार्यको नेतृत्वमा राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरियो । तर सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताएपछि एमालेकै स्पष्ट बहुमत भएकाले राई मुख्यमन्त्रीबाट हट्नु परेन ।
९३ सांसद रहेको प्रदेश १ मा गुलेफुन खातुन फौजदारी मुद्दामा दोषी देखिएकाले फरार छिन् । ९२ सदस्यमध्ये साविक एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मंचका १/१ जना सांसद रहेका छन् ।
बहुमतका लागि प्रदेश १ मा ४७ सांसद चाहिन्छ । एमालेको ५१ रहेकोमा एकीकृत समाजवादी पार्टीमा १२ जना भन्दा बढी खुलिसकेका छन् । आचार्य प्रदेश १ मा स्पष्ट अल्पमतमा देखिन्छन् । प्रदेश १ मा एमालेका ५ जना सदस्यले मात्र एकीकृत समाजवादी पार्टी रोजेमा आचार्य अल्पमतमा पर्नेथिए । नयाँ दलमा १८ जना भन्दा बढी सांसदले आउने आश्वासन दिइसकेको त्यहाँका एक सांसदले बताए ।
आचार्यले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । नयाँ दल दर्ता भएको २१ दिनभित्र प्रदेश सांसदहरूले एमाले छोडेर एकीकृत समाजवादीतिर आएनन् भने उनी मुख्यमन्त्रीमा रहिरहन्छन् । उनी मुख्यमन्त्री बनिरहने अर्को बाटो भनेको आफैं समाजवादीमा आउनु हो ।