काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि संवैधानिक इजलासमा संवैधानिक परिषद्का विषयसम्बन्धी नियुक्तिका विषयमा प्रश्न उठेको छ ।
शुक्रबार संवैधानिक इजलासम रिट निवेदक ओमप्रकाश अर्यालले उनीमाथि यस्तो आरोप लगाएका हुन् ।अर्यालले जबरालाई इजलास छाड्नसमेत सुझाएका छन् ।
रिट निवेदक अर्यालले यस्तो प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबराले आपत्ति जनाए । उनले भने ‘नियुक्तिका विषयलाई लिएर आरोप लगाउन मिल्दैन । गैरकानूनी हो भने आधार देखाउनुस् ।’
रिट निवेदक अर्यालले स्वार्थ बाझिने मुद्दाबाट प्रधानन्यायाधीश अलग रहनुपर्ने सुझाव दिएका थिए । त्यसपछि चोलेन्द्रले भने, ‘ यहाँ सबै एकै दिनमा सकिन्छ र ? अनि म महिनौं बिदा लिएर बस्नु ?’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत परिषद् बैठकसम्बन्धी व्यवस्था संशोधन गरी अख्तियारलगायत विभिन्न निकायमा नियुक्ति दिएपछि सोविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाले सो मुद्दाको सुनुवाइ गर्दैछन् ।