मन्त्री बन्न लागेका महरालाई रोशनीले भनिन्- अर्को मुद्दा बाँकी नै छ महराजी !-Sutra News

मन्त्री बन्न लागेका महरालाई रोशनीले भनिन्- अर्को मुद्दा बाँकी नै छ महराजी !

शुक्रबार, ११ भाद्र २०७८

शुक्रबार, ११ भाद्र २०७८

आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको अभियोगमा सफाइ पाएपछि पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा बौरिने प्रयासमा छन् । 



केही समयदेखि उनी पुराना दिन बिर्सएर सांगठनिक गतिविधिमा सक्रिय छन् । हालै माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठले सम्हाल्दै आएको प्रवक्ताको जिम्मेवारी उनै महरालाई सुम्पिएको छ । यसबाहेक अन्य विभिन्न विभागको जिम्मेवारी पनि महराको काँधमा हालिएको छ । 

स्रोतका अनुसार, यसबीचमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेतृत्व गरेर जाने इच्छा पनि महराले राखेका छन् । बिना दोष आफ्नो राजनीतिक जीवन क्षतविक्षत पारिएकाले सरकारमा नेतृत्व गराएर त्यसको क्षतिपूर्ति भराउन प्रचण्डसमक्ष उनले माग राखेको बताइन्छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रले ७ वटा मन्त्रालय पाउने भद्र सहमति बनेको बताइए पनि अहिलेसम्म त्यसको नेतृत्व गर्ने पात्र र मन्त्रीबारे निर्णय हुन सकेको छैन । पटक पटक अवसर पाएका महरा फेरि मन्त्री बनेर सिंहदरबार पसेमा आश्चर्य नमाने हुन्छ । 

महरा विगतका तीता पल भुलेर राजनीतिका लयमा फर्कने प्रयास गर्दा रोशनी शाहीले फेरि धम्क्याउन सुरु गरेकी छन् । उनले बिहीबार बिहानै फेसबुक स्ट्याटस अपडेट गर्दै एउटा मुद्दा सकिए पनि अर्को बाँकी रहेको बताएकी छन् । तर उनले महराविरुद्धको त्यो मुद्दा के हो भन्नेबारे केही खुलाएकी छैनन् । महराविरुद्ध कहिले मुद्दा लिएर अदालत जाँदैछिन् भन्नेबारे पनि उनको स्ट्याटस मौन छ । 

उनले स्ट्याटसमा मात्र यति लेखेकी छन्– अर्को मुद्दा बाँकी नै छ महराजी ।

लामो समय महराबारे मौन देखिएकी रोशनी माओवादी केन्द्रले प्रवक्ता र केही विभागको जिम्मेवारी दिएपछि असन्तुष्ट भएको देखिन्छ । महरालाई जिम्मेवारी दिएर महिलालाई अपमान गरिएको रोशनीको आशय छ । 

महराविरुद्ध खनिन सुरु गरेकी रोशनीले बितेका १८ घण्टामा महरालक्षित ८ वटा स्ट्याटस लेखेकी छन् । श्रीमतीको मृत्युमा सहानुभूति जनाउँदै माओवादी केन्द्रले उनलाई प्रवक्तालगायतको जिम्मेवारी दिएकोप्रति उनले आपत्ति जनाएकी छन् । अर्को स्ट्याटसमा चाहिँ उनले महराले अपराध –गल्ती) गरेकै कारण उक्त जिम्मेवारी दिइएको लेखेकी छन् । यो स्ट्याटसमा उनले अर्थ मन्त्री जनार्दन शर्माप्रति पनि रोष पोखेकी छन् । ‘महरा गल्ती गरेकै कारण प्रवक्ता बने । जनार्दनज्यू मन्त्री बनेकै कारण संगठन विभाग प्रमुख बने,’ उनले लेखेकी छन् । साँघुन्यूज 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट