काठमाडौं- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संयुक्त राष्ट्रसङ्घीय मिसनका लागि लिइने पूर्वआकलन परीक्षालाई थप मर्यादित बनाउन सम्बन्धित प्रहरी कर्मचारीले पूर्ण इमान्दार भई उत्तरदायित्व बहन गर्दै त्रुटिरहित तवरले काम गर्नुपर्ने बताएका छन् ।
उक्त मिसनका लागि पूर्वआकलन परीक्षा सञ्चालन गर्न खटिने प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा आज निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले परीक्षाको गोपनीयतालगायत तोकिएको मापदण्ड पूर्णपालना गरी आवश्यक पूर्वतयारी गर्नुपर्ने बताए ।
उनले विगतका कमजोरी नदोहोरिने गरी संवेदनशील भई आ–आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिए । नियतवश हुने लापरवाही क्षम्य नहुने चर्चा गर्दै परीक्षा सञ्चालनका लागि आवश्यक जनशक्ति एवं साधन स्रोतको व्यवस्थापनका लागि समयमै समन्वय गर्नु पर्नेमा उनले जोड दिए ।
वरिष्ठ प्रहरी अधिकृतसमेतको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय यूएन शाखाका प्रहरी उपरीक्षक गङ्गा पन्तले परीक्षा सञ्चालनको तयारीसम्बन्धी प्रस्तुतीकरण गरिन् ।