लमजुङ- कैद फैसला सुनाइएका दुई अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले बेंसीसहर नगरपालिका-९ का खड्कबहादुर कामी र उनकी कान्छी श्रीमती मीना भन्ने सुमिला विकलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुईजनालाई जिल्ला अदालत लमजुङबाट ०६६ असार २४ गते बहुविवाह मुद्दामा जनही एक वर्ष कैद र पाँच हजार जरिवाना तोकेकोमा उनीहरू फरार थिए ।
उनीहरूलाई शुक्रबार जिल्ला अदालत लमजुङमा पेस गरी तोकिएको कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । जेल सजाय भुक्तान गर्न बाँकी रहेका पुराना अभियुक्तहरूलाई पछिल्लो समय खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।