नेपाली कलाकारको युट्युब मोह- आम्दानीको लोभ कि के ?-Sutra News

नेपाली कलाकारको युट्युब मोह- आम्दानीको लोभ कि के ?

शनिबार, १२ भाद्र २०७८

शनिबार, १२ भाद्र २०७८

कोरोना संक्रमण तथा जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले गरेको निषेधाज्ञा तथा लकडाउनका कारण धेरै क्षेत्रहरुमा नराम्रो प्रभाव परेको छ । यस्तै चलचित्र क्षेत्र पनि एक हो ।  



तर पछिल्लो समय स्वास्थ्य मापदण्ड लागू गर्दै केहि क्षेत्रहरुलाइ खोल्न अनुमति दिएपछि नेपाली चलचित्र पनि जुर्मुराउन थालेको छ ।

चलचित्र निर्माण हुन थाले पनि चलचित्र प्रदर्शन हुने हल भने अझैसम्म खुल्न सकेको छैन । यसले गर्दा पनि धेरै कलाकर्मी यो समयमा कामविहीन भएका छन् । केहि कलाकार गीतको भिडियोमा व्यस्त भए पनि प्राय अहिले कहाँ के गरिरहेका छन् अत्तोपत्तो छैन । फेरी एक यस्तो  कलाकारको जमात निस्किएको  छ, जसले यो समयमा युट्युबलाई आफ्नो पेशा बनाईरहेका छन् । झट्ट भन्दा मिठो नसुनिए पनि केहि कलाकारले अहिले आफ्नो युट्युब च्यानललाई प्राथमिकता दिईरहेका छन । पछिल्लो समय नायिका प्रियंका कार्की, रिचा शर्मा , रिमा विश्वकर्मा , केकी अधिकारी लगायतका कलाकारले आफ्नो व्यक्तिगत युट्युब च्यानललाई राम्रै तरिकाले अगाडी बढाईरहेका छन्  ।

विशेष त गायनमा सक्रिय कलाकारले पछिल्लो समय आफ्नै युट्युब च्यानल खोलेर गीत र भिडियो अपलोड गर्ने कल्चर बढेको थियो । गायक प्रकाश सपुतको त झन् युट्युबमा लगभग साढे १०को हाराहारीमा सब्स्क्राइबर नै छन् । यसरी गायक देखि सुरु भएका युट्युब च्यानल निर्माण र परिचालन अब भने नायक नायिका सम्म पुगेको छ ।

नायिका प्रियंका कार्कीको बारेमा केहि जान्न मन छ भने, उनको च्यानल खोलेर हेर्दा सबै देख्न पाइन्छ । नायिका रिचा शर्माले पनि आफ्नो दैनिकी र गर्भ अवस्था बारे उनकै युट्युब च्यानलबाट भिडियोहरु अपलोड गरिरहन्छिन् । यता नायिका तथा कार्यक्रम प्रस्तोता रिमा बिश्वकर्माले त कहाँ जान्छिन्, के गर्छिन् प्राय भिडियो मार्फत थाहा दिई नै रहेकी हुन्छिन्  । पछिल्लो पटक केकी अधिकारी पनि यहि लिस्टमा सामेल हुन् आईपुगेकी  छन् । उनले पनि  आफ्नो च्यानलको कन्टेन्ट बढाउन अचेल आफ्नो बारेमा भिडियोहरु बनाएर राख्ने गर्छिन् । स्वस्तिमा खड्का युट्युबमा गिनेचुनेका बाहेकलाई अन्तरवार्ता नदिने नायिका समेत अचेल आफ्नो अफिसियल च्यानलबाट दर्शकलाई भिडियो दिन थालेकी छन् । बर्षा राउत यो लिस्टमा अगाडी नै आउने नाम हो, उनी पनि आफ्ना पतिसँग मिलेर धेरै समय भयो युट्युब तिर होमिएकी छन् । नायिका आंचल शर्माले आफ्नो विवाहको भिडियो जतनले राख्न युट्युब च्यानल खोले जस्तो लाग्छ । उनि भने युट्युबमा त्यति सक्रिय देखिएकी छैनन् । नायक सविन श्रेष्ठ  र नायिका तथा मोडल अनु शाहको त माया देखि झगडासम्म देखाउने सोसल बाटो युट्युब बनेको छ ।

यो समयमा समय काट्ने माध्यम  बनाएका हुन् या अझै आम्दानीको लोभले हो, कलाकारको युट्युब मोह ह्वातै बढेर गएको छ । मिडियालाई सधैं आफ्नो बारेमा सबै खुलाएको, भद्दा प्रस्तुत गरेको आरोप लगाउने कलाकारहरुले आफ्नो बारेमा हरेक कुरा दिनानुदिन अपडेट  गरिरहदा दर्शकले पनि के भनेर बुझ्ने प्रश्न पनि अहिले उठ्न थालेको छ ।

यसरी नेपालका कलाकारहरु युट्युबमा व्यस्त हुँदा दर्शकले विभिन्न खालका प्रश्नहरु उठाइरहेका छन् ।  

दर्शकलाई कलाकारबारे कौतुहलता हुने दिन कैले आउने होला जस्तै भइसकेको छ । कलाकार भनेका गहना हुन् र गहनाले आफ्नो महत्व बुझाउन यसरि छरिएर कुनै अर्थ राख्दैन । विशेष त मिडियाबाट टाढा भाग्न खोज्ने कलाकारहरुले आफ्नो युट्युबको लागि गरेको दुख हेर्दा, तिनछक पर्नु शिवाय उपाय छैन । अब सेलेब्रिटी नै यसरि मैदानमा आएपछि आगामी दिनमा मिडियालाई पनि चुनौती बढेको देख्न सकिन्छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट