काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमाले नछाड्ने बताएकी छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उनलाई आफ्नो पक्षमा आउन दवाव दिए पनि उनले आफूले सत्ताका लागि एमाले नछाड्ने प्रष्ट पारेकी हुन् ।
शाक्य एमाले विभाजन हुने क्रममा नेपाल पक्षलाई समर्थन गरेकी थिइन् । तर उनले एमाले विभाजन भएपछि माधवको साथ छोडेकी थिइन् । उनी बागमती प्रदेशको मुख्यमन्त्री भएपछि उनले फेरी माधव नेपालको पक्षमा जान लागेको चर्चा चलेको थियो ।
नेता नेपालले केही दिनअगाडी एक कार्यक्रममा बोल्दै शाक्यलाई आफूले मुख्यमन्त्री बनाएको दावी गरेका थिए । स्रोतका अनुसार उनले अष्टलक्ष्मी शाक्यलाई आफ्नो पार्टीमा आउन आग्रह गर्ने तयारीसमेत गरेका छन् ।
एकता जोगाइराख्ने प्रयोजनका निम्ति एमालेले माधवकुमार नेपाल पक्षमा रहेका दुवै नेताहरूलाई मुख्यमन्त्री बनाएको थियो । नेता नेपालले काठमाडौँमा नयाँ दल दर्ता गरेकै दिन बागमतीमा शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।