बझाङ- लगातारको वर्षाका कारण बझाङका विभिन्न ठाउँमा पहिरोले क्षति पुर्याए छ । पहिरोका कारण केही परिवार विस्थापित भएका छन् । गए राति वित्थडचिर गाउँपालिका-६ मा दिलबहादुर धामीको चार कोठे तीनतले घरको पछाडिबाट आएको पहिराले घरमा क्षति पुगेको छ ।
पहिरोले घरको पर्खाल भत्काउँदा घरभित्र रहेका भाँडाकुँडा र अन्नमा क्षति पुगेको छ । धामीको परिवार विस्थापित भएर अर्को घरमा सरेका छन् । पहिरो आएको थाहा पाएपछि मानवीय र पशुचौपाया जोगाउन सकिएको धामीले बताए ।
यस्तै पहिरोले केदारस्युँ गाउँपालिका-५ चौडेल्लीमा देवबहादुर गुधार्मीको घरमा पनि क्षति पुर्याएको छ । गुरुधार्मीको परिवार छिमेकीको घरमा बसिरहेको प्रहरीले जनाएको छ । सोही ठाउँकै करन धामीको घरको आँगन भत्किँदा घर जोखिममा परेको जनाइएको छ ।
चौडेल्लीकै नरुवा धामी, जयभान धामी, जसुवा धामीको घरमा पहिरो आएर सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।