काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगमनको नाइके भएको टिप्पणी गरेका छन् ।
शनिबार पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिगको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनलाई निमन्त्रण दिएको तर सबै दलहरु एकढिक्का भएर प्रतिरोध गर्दा प्रतिगमन परास्त भएको बताए ।
प्रचण्डले समाजवादी यात्राको तयारीको लागि कम्युनिस्ट पार्टीमा एकता गरिए पनि प्रतिगमनको नाइकेहरूका एकता नटिकेको बताए । उनले पहिलोपटक भएको संसद् विघटनलाई आफूले जनयुद्धकै एउटा रुपका रुपमा लिएको स्मरण गर्दै त्यसलाई प्रतिगमन भनेर युवाहरुले साथ दिएको भन्दै प्रशंसा पनि गरे ।
‘संसद विघटनविरुद्ध उभिँदा सबैले जीवन मरणकै संघर्षका रुपमा लियौं । पटक-पटक लाखौँ जनता सडकमा उतारियो । अरू दल पनि संविधान र लोकतन्त्रका विरुद्ध घात हो भनेर एकजुट हुनुभयो’ प्रचण्डले भने ।
समाजवादी आन्दोलनलाई अघि बढाउने कार्यमा युवाहरु जुट्नुपर्नेमा जोड दिँदै उनले अहिले वातावरण पनि रहेको बताए ।