काठमाडौं- नेकपा (माओवादी केन्द्र) का संगठन विभाग प्रमुख जनार्दन शर्माले पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) लाई कार्यकारी राष्ट्रपतिको मुद्दा उठाएर अगाडि बढ्न निर्देशन दिएका छन् ।
वाइसीएलको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्रीसमेत रहेका शर्माले विगतमा पार्टीले उठाउँदै आएका मुद्दालाई बोकेर अघि बढ्न निर्देशन दिएका हुन् ।
‘कार्यकारी प्रमुखको कुरा, समानुपातिक निर्वाचन, पहिचान र विशेष अधिकारका मुद्दा बाँकी छन् । ती मुद्दाहरूलाई समातेर अगाडि बढ्नुस्,’ उनले भने ।
वाइसीएल मुद्दाविहीन बनेमा जीवन्त नहुने शर्माको भनाइ थियो । उनले विगतमा पार्टीले उठाउँदै आएका र पूरा हुन नसकेका मुद्दालाई फेरि उठाउनुपर्ने बताए ।
२०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको शासकीय प्रणालीमा जानुपर्ने माग उठाएको थियो । तर, संविधान निर्माणका क्रममा सहमति गर्दै माओवादी कार्यकारी प्रधानमन्त्रीको पक्षमा लागेको थियो ।