राजनीतिबाटै बिदा लिने प्रचण्डको संकेत, कार्यकर्तामाझ गरे यस्तो घोषणा-Sutra News

राजनीतिबाटै बिदा लिने प्रचण्डको संकेत, कार्यकर्तामाझ गरे यस्तो घोषणा

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले युवाहरू राजनीतिक नेतृत्वमा आए आफूले राजनीतिबाट बिदा लिने बताएका छन् ।



योङ कम्युनिस्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई शनिबार काठमाडौंबाट सम्बोधन गर्दै प्रचण्डले समाजवादी क्रान्तिको नेतृत्व गर्ने अवसर युवालाई भएको र त्यसका लागि तयारी लाग्न भनेका छन् ।

‘मलाई छिटोभन्दा छिटो राजनीतिबाट बिदा लिएर संस्मरण लेख्न मन छ । तर, युवाहरू तयार नहुँदासम्म मैले छुट पाउने देखेको छैन । छिटै तपाईंहरूले नेतृत्व लिनुपर्छ । हामी छिट्टै युवालाई नेतृत्वमा स्थापित गराउँछौँ । त्यो भनेको भोलि नै चाहिँ होइन,’ प्रचण्डले भने ।

वाईसीएलले भचुर्अल माध्यमको प्रयोग गरेर राष्ट्रिय भेला आयोजना गरेको छ । प्रविधिको प्रयोग गरेर सम्मेलन आयोजना गरेको भन्दै प्रचण्डले वाईसीएलको प्रशंसा गरेका थिए ।

‘विज्ञानमा बेइमानी चल्दैन । नभएको कुरा ढाँटेर हुँदैन । जे भनेको छ त्यही हुन्छ । हामीले बुझेको विज्ञान त्यही हो । राजनीति पनि त्यही हो । तर, केपी प्रवृत्ति अर्कै रहेछ,’ प्रचण्डले भने, ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भनेको त लेबल मात्रै रहेछ । भ्रष्टाचार छोप्नका लागि मात्रै रहेछ ।’

पार्टी एकता गर्ने केपी ओलीको कामलाई प्रचण्डले ओलीको ठगी धन्दा भनेका छन् । ‘पार्टी एकता गर्ने कुरा त प्रधानमन्त्री प्राप्त गर्न केपी ओलीले ठगी धन्दा गरेका रहेछन् । तर, साथीहरूले केपी ओलीसँग एकता गरेर के पाइस् भन्ने गरेका छन् । केपी ओलीसँग एकता गरेर ठूलो ज्ञान प्राप्त भएको छ,’ प्रचण्डले भने । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट