काठमाडौं- पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र डुबानबाट मुलुकका विभिन्न क्षेत्रमा चार हजार पाँच सय घर डुबानमा परेको छ । डुबानमा परेकामध्ये झन्डै १० प्रतिशतमा क्षति पुगेको अनुमान गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ एक विज्ञप्ति जारी गरी पछिल्लो तीन दिनमा मनसुनजन्य घटनाबाट नौ जनाको मृत्यु भएको र पाँचजना घाइते भएका जनाएको छ ।
उक्त अवधिमा ४२ घर पूर्ण क्षति भएको तथा सात सय ५६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । यो वर्षाबाट ९० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।
प्राधिकरणले नेपालमा अधिकांश भेगमा वर्षा भएको र तराईको केही जिल्लामा डुबान तथा पहाडी क्षेत्रमा पहिराका घटना भइरहेको जनाएको छ । मुख्यगरी भारी वर्षाका कारण धेरै क्षेत्रमा जनजीवन प्रभावित हुन पुगको छ ।
अझै १५ गतेसम्म नै वर्षाको सम्भावना भए पनि आजदेखि भने केही घट्ने अनुमान गरिएको मौसम विज्ञान विभागले जनाएको छ ।
आज मात्रै विषयगत क्षेत्रमा सरकारी निकाय, सहयोगी तथा सरोकारवाला निकायको बैठक बसी जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा समन्वयात्मक रुपमा अघि बढ्ने निष्कर्ष निकालिएको छ ।
खोज, उद्धार तथा आश्रयस्थल तथा खाद्यान्न व्यवस्थापनमा स्थानीय तहसँगको समन्वयमा काम भइरहेको जानकारी गराइएको छ ।
खानेपानी सरसफाइ, प्राथमिक स्वास्थ्य सेवाका लागि समन्वयात्मक रुपमा अघि बढ्ने निर्णय पनि भएको छ । आवास पुनर्निर्माण तथा पुनस्र्थापनका लागि यसअघि जारी भएको कार्यविधिअनुसार अघि बढेको जनाइएको छ ।