किर्गिस्तानमा नोभेम्बर २८ मा संसदीय निर्वाचन हुने-Sutra News

किर्गिस्तानमा नोभेम्बर २८ मा संसदीय निर्वाचन हुने

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

बिस्केक- किर्गिस्तानमा संसदीय निर्वाचन आगामी नोभेम्बर २८ मा हुनेगरी मिति घोषणा गरिएको छ । राष्ट्रपति सादिर जपारोफले निर्वाचनको मिति घोषणा गरिएको निर्णयमा हस्ताक्षर गरिसकेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।



जनमत सङ्ग्रहबाट संशोधन गरिएको संवैधानिक व्यवस्थानुसार निर्वाचन घोषणा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । अहिले निर्धारण गरिएको निर्वाचनबाट ९० जना प्रतिनिधिहरू पाँच वर्षका लागि निर्वाचित हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

संशोधन गर्नु अगाडिको संविधानअनुसार पार्टीहरूले पाएको मतका आधारमा संसद्का लागि १२० जना प्रतिनिधिहरू छनौट हुने व्यवस्था रहेको थियो । केही महिना अगाडि भएको किर्गिस्तानको राष्ट्रपतीय चुनावबाट जपारोफ ठूलो मतका साथ विजयी भएका थिए । राजनीतिक प्रतिद्वन्द्वीलाई बन्धक बनाएको आरोपमा जेल जीवनसमेत बिताएका जपारोफले नयाँ अधिकारसहित राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

किर्गिस्तानमा यसअघि गत अक्टोबरमा भएको संसदीय निर्वाचन विवादमा परेर राजनीतिक सङ्कट उत्पन्न भएको थियो । उक्त चुनावको परिणाम विवादित बनेपछि विरोध चर्किदै जाँदा तत्कालीन राष्ट्रपति सोरोनबी जेनबेयकोफले राजीनामा दिन बाध्य हुनु परेको थियो ।

किर्गिस्तानमा ठूलो आर्थिक सङ्कट रहेको छ भने त्यसको व्यवस्थापन अहिलेको प्रमुख चुनौती देखिएको छ । त्यसैगरी बेरोजगारी पनि किर्गिस्तानको अर्को ठूलो समस्या हो । देशमा रोजगारी नपाउँदा हजारौँ युवाहरू विदेशिन बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट