काठमाडौं- रिभाइभ लिजर पार्कको स्थापनाको उपलक्ष्यमा ‘प्रथम रिभाइभ लिजरपार्क खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप, २०७८’ आयोजना हुने भएको छ ।
१ देखि ५ असोजसम्म आयोजना हुने च्याम्पियनसिपमा पुरुष एकल र युगल, महिला एकल, भेटरान्स युगल गरी चार विधामा खुला प्रतियस्पर्धा गराइनेछ ।
च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरू, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन विभागीय टिम, विभिन्न संघसंस्था, क्लब, नेपालमा बसोबास गर्दै आइरहेका विदेशी खेलाडीहरूलाई पनि सहभागी गराइनेछ ।
च्याम्पियनसिपमा ३०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएका छन् । करिब १७ लाख रुपैयाँ अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
नगद पुरस्कारको राशि निश्चित नभइसकेकाले अहिले नै पुरस्कारको राशि नतोकिएको आयोजकले जनाएको छ । सोही क्रममा नेपालका लागि अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।
आयोजकको लगनखेलस्थित आफ्नै कभर्ड हलमा आयोजना हुने च्याम्पियनसिपका बेला कोभिड- १९ को उच्चसंक्रमणलाई ध्यानमा राखी सम्पूर्ण सरकारी मापदण्डलाई पालना गर्दै खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियल र अत्यावश्यक व्यक्तिहरूलाई मात्र हलमा प्रवेशको व्यवस्था गरिने बताएको छ ।
‘हाम्रो उद्देश्य नाफा कमाउनु मात्र नभई नेपालीहरूलाई शारीरिक, मानसिक रूपमा स्वस्थ राख्नु तथा नेपाली खेलकुद क्षेत्रलाई उकास्न विभिन्न राष्ट्रियस्तरका प्रतियोगिताहरू आयोजना गर्नु र बालबालिकाहरूलाई उच्चस्तरको प्रशिक्षणको व्यवस्था गरी नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीहरू उत्पादन गर्नु हो’, संस्थाका अध्यक्ष शुक्र पाख्रिनले भने, ‘निजी क्षेत्रबाट नेपाल सरकारको खेलकुद विकासको अभियानलाई सहयोग पुर्याउने हाम्रो मूल उद्देश्य हो ।’