काठमाडाैं- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पार्दा साविक विजेता एथ्लेटिको म्याड्रिड भने रोकिएको छ । आइतबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा गेटाफेलाई दुई-एक गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले दोस्रो जित निकालेको हो ।
बार्सिलोनाकाे जितमा सेर्जी रोबर्टो र मेम्फिस डिपाएले एक-एक गोल गरे । गेटाफेका सान्ड्रो रामिरेजले सान्त्वना गोल गरे । खेलको दोस्रो मिनेटमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । १८ औँ मिनेटमा सान्ड्रोले गोल गर्दै गेटाफेलाई एक-एक गोलको बराबरीमा ल्याए । ३० औं मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।
जितसँगै बार्सिलोनाले तीन खेलमा सात अंक जोडेको छ । बार्सिलोना चौथो स्थानमा रहेको छ । गेटाफेको यो लगातार तेस्रो हार हो । गेटाफेले अंक जोड्न सकेको छैन ।
यस्तै, आइतबार राति भएको अर्को खेलमा साविक विजेता एथ्लेटिको म्याड्रिड भिल्लारियलसङ दुई-दुईको बराबरीमा रोकिएको हो । भिल्लारियलको लागि मानु ट्रीगुएरोस र अर्नाउट दान्जुमाले एक-एक गोल गरे । एथ्लेटिकोको लागि लुइस सुवारेज गोल गर्दा भिल्लारियलका ऐसा मान्दीले आत्माघाती गोल गरे ।
बराबरीमा रोकिएको एथ्लेटिकोको तीन खेलबाट सात अंक छ । एथ्लेटिको तालिकाको पाँचौ स्थानमा छ । भिल्लारियल भने समान खेलबाट तीन अंक सहित ११ औँ स्थानमा छ ।