नेपालविरुद्ध दुई मैत्रीपूर्ण फुटबल खेलका लागि भारतीय फुटबल टोली आज सोमबार नेपाल आउँदैछ।
१७ र २० भदौमा दशरथ रंगशालामा हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबलको ३७ सदस्यीय टोली आउन लागेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जानकारी दिएको छ ।दुवै खेलले फिफा मान्यता पाएका छन्।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले २५ खेलाडी तथा १२ अफिसियल साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको बताए।
गत बिहीबार अल इण्डियन फुटबल फेडेरेशन (एआइएफएफ) ले २५ सदस्यीय टोली घोषणा गरेको हो। घोषित टिमको कप्तान सुनिल क्षेत्री छन्। यस्तै गोलरक्षक गुरप्रीत सिंह सन्धु समेत नेपाल भ्रमणमा रहनेछन्।
नेपाल भ्रमणमा रहँदा भारतीय टोली होटल सोल्टी क्राउनमा बस्ने महासचिव तुलाधरले बताए। टोलीले सातदोबाटो स्थित एन्फा मैदान, दशरथ रंगशाला र आर्मी मैदानमा अभ्यास गर्ने कार्यक्रम छ।
नेपालले समेत भारतविरुद्ध खेलका लागि टोली घोषणा गरिसकेको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय टोली छनोट गरेका थिए। १५ दिन पोखरामा अभ्यास गरेपछि नेपाली टोली आइतबार काठमाडौं फर्किएको हो ।