कमेडी च्याम्पियन : उपाधि जित्नेमा हिक्मतका मास्टर ढुक्क, भोटिङमा उर्लियो सुदूरपश्चिम-Sutra News

कमेडी च्याम्पियन : उपाधि जित्नेमा हिक्मतका मास्टर ढुक्क, भोटिङमा उर्लियो सुदूरपश्चिम

सोमबार, १४ भाद्र २०७८

सोमबार, १४ भाद्र २०७८

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका हिक्मत महराको ध्यान अहिले ‘कमेडी च्याम्पियन २’ को उपाधि कसरी हात पार्ने भन्नेमा केन्द्रित छ । चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ मा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापासँग हिक्मतले दह्रो प्रतिस्पर्धा गर्नुपरेको छ । 



अहिलेसम्म भोटिङमा उनले राम्रै सफलता हासिल गरिरहेका छन् । अब फाइनल राउन्ड चलेकाले प्रस्तुति पनि उत्कृष्ट दिनुपर्ने उनमा चुनौती छ ।

कञ्चनपुरको सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाबाट प्लस टु उत्तीर्ण गरका हिक्मतले कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा बिएडसम्म अध्ययन गरेका छन् । ‘कमेडी च्याम्पियन २’ मा ६ हजार प्रतियोगीले डिजिटल अडिसन दिएकोमा हिक्मत एक सय ८० जनामा छनोट भएका थिए । त्यसपछि टप २४, १५, ११ हँुदै उत्कृष्ट चारमा पुगेका हुन् ।

हिक्मतले उत्कृष्ट तीनका लागि प्रस्तुति दिइसकेका छन् । अब जसले राम्रो प्रस्तुति दिन्छ र भोट ल्याउँछ उसैले उपाधि जित्ने अवस्था छ । त्यसैले सबैलाई भोट गरिदिन उनले अपिल गरेका छन् । ‘प्रतिस्पर्धा निकै कडा छ । जसले बढी भोट पाउँछ, त्यसले नै जित्छ,’ उनले न्युज कारखानासँग भने, ‘अत्यधिक भोटिङ गरी जिताइदिन सबैलाई आग्रह छ ।’ 

सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाका प्रधानाध्यापक धनसिंह महरा हिक्मत नाम जस्तै कमेडीमा हिम्मत राख्ने युवाका रूपमा आफूले चिनेको बताउँछन् । ‘समाजका विकृति, विसंगति र राजनीतिक परिदृश्यका बारेमा गाउँघरमै र विद्यालयमा पढ्दादेखि नै व्यंग्य गरी कमेडी देखाउने गर्दथे,’ उनले भने, ‘उपयुक्त मञ्च पाएपछि उनले प्रतिभा संसारभरलाई देखाएर आफूलाई चिनाएका छन् ।’ रियालिटी शोमा सबैभन्दा हिक्मतले राम्रो प्रस्तुति देखाउँदै आएकाले सबैले भोट दिई विजयी बनाउनेमा आफू आशावादी रहेको उनले बताए । 

माओवादी केन्द्रकी नेतृ विना मगरले सुदूरपश्चिमका अब्बल कमेडियन हिक्मतलाई भोट गरी आगामी यात्रा सुरक्षित गरिदिन सामाजिक सञ्जालमार्फत अनुरोध गरेकी छिन् । महरालाई जिताउन कञ्चनपुरका विभिन्न संघसंस्था तथा व्यक्तिहरूले अभियान नै सञ्चालन गरेका छन् ।

‘सुदूरपश्चिमका एक मात्रै राष्ट्रियस्तरमा पुगेका कमेडियन महरालाई भोट माग्न युवाहरू परिचालन गरी जुटेका छौं,’ स्थानीय परमानन्द जोशीले भने, ‘सामाजिक सञ्जालमार्फत र भेटेरै पनि भोटका लागि अपिल गरिरहेका छौं ।’ हिक्मतलाई फाइनलमा पुर्याउने लक्ष्य रहेको उनले बताए । बैतडीको पुर्चाैडी नगरपालिका–१० मौरगाउँमा २०५० सालमा जन्मेका महरा हाल कञ्चनपुर बस्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट