काठमाडौँ । नेकपा एमालेले स्थानीय तहका जनप्रतिनिधिहरुले गरेको कामको समीक्षा गर्ने भएको छ । मंगलबार पार्टी कमिटीलाई आवश्यक निर्देशनसहितको तयारी गर्न निर्देशन दिएको छ ।
त्यस्तै एमालेले जनताको विश्वास कति जित्न सकेको वा नसकेको भन्ने कुरा आगामी निर्वाचनमा मूल्याङ्कन हुने भएकाले सोही अनुसार अघि बढ्न चेतावनीसमेत दिएको छ ।
‘अव निर्वाचन नजिकिँदै जाँदा विगत निर्वाचनमा हामीले जितेका पालिकाहरूमा जनताको पक्षमा कति काम गर्न सक्यौँ ? जनताको विश्वास जित्न सक्यौँ वा सकेनौँ ? पालिकाहरूमा जनताको पक्षमा सुशासन कायम राख्न सक्यौँ वा सकेनौँ ? यसको मूल्याङ्कन आगामी निर्वाचनमा हुने छ’, सर्कुलरमा भनिएको छ, ‘जहाँ हामीले आंशिक मात्र जित्न सक्यौँ वा पराजय भोग्यौँ त्यस्ता पालिकाहरूमा हाम्रो पार्टी मार्फत खबरदारी गर्ने वा पार्टीको पहलमा पनि जनताका कामहरू गर्ने सवालमा हाम्रो भूमिका के रह्यो ? यसको आधारमा पनि आगामी निर्वाचनमा हाम्रो मूल्याङ्कन हुने छ ।’ एमालेले भनेको छ–‘त्यसैले हाम्रो पार्टी अहिलेदेखि नै स्थानीय तहको निर्वाचनको तैयारीमा लाग्नु आवश्यक छ ।’