काठमाडौं महानगर र सिसडोलबीच सहमति, बुधबारदेखि फोहोर उठाइने-Sutra News

काठमाडौं महानगर र सिसडोलबीच सहमति, बुधबारदेखि फोहोर उठाइने

मंगलबार, १५ भाद्र २०७८

मंगलबार, १५ भाद्र २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापन हुने भएको छ । काठमाडौं महानगरपालिका र सिसडोलका स्थानीयबीच आज भएको १४ बुँदे सहमतिअनुसार फोहोर व्यवस्थापनको अवरोध हटाई उपत्यकामा रहेको फोहोरलाई सिसडोलमा व्यवस्थापन गर्ने सहमति भएको हो ।



महागरको वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठ र ककनी वडा-१ का वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठसहित संलग्न बैठकले विभिन्न १४ बुँदे सहमतिमा गर्दै फोहोर ढुवानीमा भएको अवरोध हटाउँदै फोहोर व्यवस्थापन गर्ने निर्णय भएको हो ।

सहमतिअनुसार अब स्थानीयले फोहोर ढुवानीमा अवरोध सिर्जना गर्नेछैनन् र उपत्यकाको फोहोर व्यवस्थापन हुनेछ । दुवै पक्षले सहमति आजैदेखि लागू गर्ने जनाएका छन् । यसअघि महानगरपालिकासँग गरिएको १७ बुँदे सम्झौता पनि कार्यान्वयन गर्ने सहमति भएको प्रमुख श्रेष्ठ बताए ।

सहमतिमा तीनपिप्ले-सिसडोल सडक तत्काल १५ दिनभित्रमा ग्राभेल गरिने र त्यसपश्चात् टेण्डर प्रक्रियामा गई कालोपत्र गरिने, फोहोर ढुवानी गर्ने गाडीको लिचेड बक्सको व्यवस्था गर्नुपर्ने र तीनपिप्ले-सिसडोल सडक खण्डमा पार्किङ गर्न नपाउने तथा ओभरलोड ढुवानी गर्न नदिने, फोहोर ढुवानी गर्ने गाडीलाई टाइम कार्ड र बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्मको समयमा मात्र आउजाउ गर्न दिने, बाटोमा खसेको फोहोरलाई व्यवस्थापन गर्न गाडीको व्यवस्थापन गर्ने बुँदा रहेका छन् ।

यस्तै, तीनपिप्ले-सिसडोल सडक खण्डको जग्गाको कित्ताकाट गरि मुआब्जा दिने सम्बन्धमा महानगरका प्रमुखसँग छलफल गर्ने, स्थानीय प्रभावित क्षेत्रमा रहेका विद्यालय र संघसंस्थाका लागि खेलकुद व्यवस्थापन गर्ने, श्री महालक्ष्मी मन्दिर क्षेत्रमा सार्वजनिक शौचालय बनाउनेसमेत सहमति गरिएको छ ।

तीनपिप्ले-सिसडोल सडक खण्ड छेउछाउ र महालक्ष्मी मन्दिर वरपर वृक्षरोपण गरिने, फोहोर ढुवानी गर्ने चालकका लागि स्वास्थ्य परीक्षण गर्ने, सडक संरक्षण र सरसफाइका लागि अभियान संचालन गर्नेसमेत सहमति भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट