काठमाडौं/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्खरै उपचार गराएर फर्किएका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई भेट्न उनकै निवास डल्लु पुगेका छन् ।
बुधबार बिहानै प्रचण्ड खनाल निवास डल्लु पुगेर छलफल गरेका छन् । भेटका क्रममा प्रचण्डले उनको स्वास्थ अवस्थाबारे जानकारी लिएका थिए ।
भेटमा प्रचण्डले खनालको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
‘तपाईं छिटो निको हुनुहोस्, मिलेर राजनीतिक यात्रा तय गर्नुछ,’ प्रचण्डको भनाइ उदृत गर्दै डल्लु स्रोतले सूत्रन्यूजलाई भन्यो ।
माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल बनेपछि खनाल उत्साहित भएका छन् ।
एमाले विभाजनपछि बनेको नयाँ दल र माओवादी केन्द्रबीच एकता हुने चर्चा राजनीतिक बजारमा चलिरहेको छ ।
सोमबार भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्किएका खनालको स्वास्थ्य अवस्था बुझ्न र समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रचण्ड त्यहाँ पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।