काठमाडौँ । प्रधानमन्त्री शेराबहादुर देउवा नेतृत्वको सरकार सरकार गठन भएको ५० दिन पुगिसक्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
मन्त्रिपरिषदलाई छिटो पूर्णता दिनका लागि मंगलबार प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पनि मन्त्रिपरिषद विस्तार हुने समयको ग्यारेन्टी गर्न सकेन ।
आजको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादी पार्टीका माधव नेपालले महत्वपूर्ण मन्त्रालय आफ्नो तहमा ल्याउन कोशिस गरेका थिए । त्यस्तै जसपाले र एमाले समाजवादी पार्टीले दाबी गर्न खोजेको मन्त्रालयमा काँग्रेसको पनि दाबी रहेको छ ।
जसपा र समाजवादीले चाहेको स्वास्थ्य र परराष्ट्र मन्त्रालय काँग्रेसले आफूसँग नै राख्ने रणनीतिका साथ अगाडी बढेको छ ।
प्रधानमन्त्री बनेको डेढ महिना बितिसक्दा पनि सत्तारुढ गठबन्धनका दलहरूभित्रको आन्तरिक किचलोका कारण देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
प्रधानमन्त्री देउवाले १७ मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालेका छन् । गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन्।