प्रदेश १- एमालेका १० सांसदलाई होटलमा लुकाएको आरोप लागेपछि…-Sutra News

प्रदेश १- एमालेका १० सांसदलाई होटलमा लुकाएको आरोप लागेपछि…

बुधबार, १६ भाद्र २०७८

बुधबार, १६ भाद्र २०७८

एमाले विभाजनपछि प्रदेश १ मा १० सांसद नेकपा (एकीकृत समाजवादी) मा जाने भएका छन्। एमाले छाडेर माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको जानकारी गराएर निर्वाचन कार्यालयमार्फत सनाखत गराउने तयारी भइरहेको प्रदेश सांसद उपेन्द्र घिमिरेले बताए। ‘एमाले परित्याग गरेर नयाँ दल रोजेका १० जना सांसदले निर्वाचन कार्यालय पुगेर सनाखत गराउँदै छौँ,’ उनले भने ,‘त्यसका लागि दिउँसो १२ बजेपछि निर्वाचन कार्यालय पुग्ने तयारी छ।’ 



एमाले परित्यागको तयारी गरेका १० सांसद दुई दिनयता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेष्ट हाउसमा बसेका थिए। त्यसअघि उनीहरु विराटनगरकै बिग होटलमा बस्दै आएका थिए। सांसदलाई होटलमा लुकाएको भन्दै आलोचना हुन थालेपछि समाजवादीका नेताहरुसहित सांसदहरु गत सोमबार धरान पुगेका हुन्। 

प्रदेश १ सरकारको नेतृत्व गरिरहेको एमाले र नयाँ दल समाजवादीले सांसदलाई आ-आफ्नातिर तान्न जोडबल गरिरहेका बेला १० सांसद भने गोप्य रूपमा धरान गएर बसेको स्रोतले बतायो। स्रोतका अनुसार एमालेमै बस्न र नयाँ दलमा नजानका लागि दबाब आउन थालेपछि त्यसलाई थेग्न नसकेर सांसदहरुले विराटनगर छाडेका हुन्। धरानबाट सिधै विराटनगरस्थित निर्वाचन कार्यालयमा पुगेर नयाँ दल रोजेको जानकारीसहितको निवेदन दिएर सनाखत गराउने तयारी रहेको घिमिरेले बताए।  

प्रदेश १ मा एकल बहुमत रहेकाले सरकारको नेतृत्व गरिरहेपनि विभाजनपछि एमाले नेतृत्वको सरकार संकटमा परेको छ। एमाले सचिव भीम आचार्यसहितले नेपालको साथ छाड्दै एमालेमै बस्ने घोषणा गरेपछि समाजवादीमा जाने सांसदको संख्या भने १० मा झरेको हो। आचार्य अहिले प्रदेश १ का मुख्यमन्त्री छन्। एमालेमै हुँदा नेपालको पक्षमा २५ जना सांसद देखिएका थिए। 

पार्टी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै उत्पन्न ओली–नेपाल टकरावपछि अधिकांश सांसद नेपालको साथ छाड्दै ओली पक्षमा खुलेका हुन्। नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी नामक दल दर्ता गराएपछि अहिलेसम्म समाजवादीको पक्षमा १० जना मात्रै सांसद देखिएका छन्। 

समाजवादीमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरीता थापा जाने भएका हुन्। ५१ जना सांसद साथमा हुँदा सुविधाजनक बहुमतसहित सरकारको नेतृत्व एमालेले गरिरहेको थियो। तर ९२ सदस्यीय प्रदेशसभामा १० सांसदले एमाले छाडेर नयाँ दल रोज्ने भएपछि मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको छ। प्रदेशमा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र अन्य दुई साना दलामा १–१ जना सांसद छन्।

सरकारमा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ। एमालेले सांसद संख्या पुर्‍याउन नसक्दा गत बिहीबार मात्रै मुख्यमन्त्री बनेका आचार्य नेतृत्वको सरकार लगभग ढल्ने निश्चित भइसकेको छ। उनी नेतृत्वको सरकार ढालेर कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनबाट नयाँ सरकार बनाउने गृहकार्य प्रदेश १ मा भइरहेको छ। अन्नपूर्ण

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट