उदयपुरका ७५ वडामा शुक्रबार एकैचोटि वडा अधिवेशन-Sutra News

उदयपुरका ७५ वडामा शुक्रबार एकैचोटि वडा अधिवेशन

बिहिबार, १७ भाद्र २०७८

बिहिबार, १७ भाद्र २०७८

उदयपुर- नेपाली कांग्रेस उदयपुरले १४ औँ महाधिवेशनको क्रममा १८ भदौमा हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । उदयपुरका आठवटा स्थानीय तहका ७५ वटा वडामा नै तयारी पूरा भएको कांग्रेस जिल्ला सभापति विदुर बस्नेतले जानकारी दिए ।



१८ भदौमा हुने वडा अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको निर्वाचन अधिकृत खुसीराज गौतमले बताए । चारवटा नगरपालिका र चारवटा गाउँपालिकाको अधिवेशन २७ भदौका लागि तोकिएको छ । 

चारवटा प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन १ असोजमा तय गरिएको छ । कांग्रेसको उदयपुरमा रहेका दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन ५ असोजमा र जिल्ला अधिवेशन १० असोजमा हुने कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ । 

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकालाई जिल्ला समितिको बैठकले अनुमोदन गरेको जनाइएको छ । 

१८ भदौमा हुने वडा अधिवेशनमा सबैभन्दा बढी त्रियुगा नगरपालिकामा तीन हजार ६७८ जना क्रियाशील सदस्य छन् भने चौदण्डीगढी नगरपालिकामा एक हजार ७२३, बेलका नगरपालिकामा एक हजार ५४ र कटारी नगरपालिकामा दुई हजार १३ जना क्रियाशील सदस्यले वडा अधिवेशनमा सहभागिता जनाउनेछन् ।

यता, उदयपुरगढी गाउँपालिकामा ५०३, ताप्ली गाउँपालिकामा ४०९, रौतामाई गाउँपालिकामा ५४९ र लिम्चुङबुङ गाउँपालिकामा ३८१ जना क्रियाशील सदस्यले वडा अधिवेशनमा सहभगिता जनाउने जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ ।

वडा अधिवेशनका लागि ७५ जना निर्वाचन अधिकृत चयन गरिसकेको कांग्रेस उदयपुरका प्रवक्ता मदनराज कटुवालले जानकारी दिए ।

वडा अधिवेशनका लागि सबै वडा वडाका लागि तोकिएका निर्वाचन प्रतिनिधिहरू आवश्यक निर्वाचन सामग्री तथा क्रियाशील सदस्यको नामावलीसहित कार्यक्षेत्रमा खटिएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट