धनगढी- कोरोना संक्रमणका कारण चार महिनादेखि बन्द रहेका कैलालीका शैक्षिक संस्था संचालन हुने भएका छन् ।विद्यालय संचालन सम्बन्धमा बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मापदण्डका नियम पालना गर्दै शैक्षिक संस्था संचालन गर्न पाइने निर्णय गरेको छ ।
बैठकपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै भौतिक उपस्थितिमै विद्यालय संचालन गर्न पाउने उल्लेख गरेका छन् । प्रजिअ रिजालकाअनुसार बालबालिकाका शैक्षिक गतिविधि र अन्य सामाजिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको हो ।
सकभर भौतिक उपस्थितिमा पठन-पाठन नगरी भर्चुअल माध्यमबाट पठन-पाठन गराउन आग्रह गरिएको छ । यदि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्नुपर्ने अवस्था आए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको मापदण्डभित्र रही संचालन गर्न पाइने बताइएको छ ।
त्यसको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । स्वास्थ्य मापदण्ड अपनाएको नभेटिए तत्काल विद्यालय बन्द गरिने प्रमुख जिल्ला अधिकारी रिजालद्वारा जारी आदेशमा उल्लेख छ ।