काठमाडौं- पर्वतका दुई पालिकामा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको हो ।
प्रहरीकाअनुसार कुश्मा नगरपालिका-३ दुर्लुङमा पहिरोले एकैघरका पाँच जना पुरिएकोका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले पहिरोमा पुरिएका पाँच जनामध्ये दुई जना मृत अवस्थामा फेला परेको जानकारी दिए । १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको र तीन जना बेपत्ता रहेकाले खोजी भइरहेको उनले बताए ।
यस्तै कुश्मा नगरपालिका-११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए ।
यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको छ ।