काठमाडौं- सर्लाहीको चन्द्रनगर गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी) शिक्षक र विद्यालय कर्मचारीको तलब थप गरेको छ । गतअसार ३० गते बसेको नवौं गाउँसभाबाट तलब थपको निर्णय घोषणा गरिएकाे हाे ।
संघीय सरकारले दिएकाे ८ हजारमा ७ हजार थप गरेर १५ हजार रूपैयाँ दिइएकाे छ । शिक्षक महासंघ चन्द्रनगरका अध्यक्ष सरोज सिंहले भने,‘प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी) शिक्षक र विद्यालय कर्मचारीको तलब थपको माग गर्दै गतवर्षको असोजदेखि हामीले गाउँपालिकालाई दबाब दिएका थियौं । बीचमा संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमार्फत् इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्यो । शिक्षक र कर्मचारीलाई केन्द्रबाट उपलब्ध ८ हजारमा स्थानीय सरकारले ७ हजार थप गरी १५ हजार दिनुपर्नेमा स्थानीय सरकारले ७ हजार दिन अस्वीकार गर्यो । हाम्रो निरन्तर दबाबपछि चन्द्रनगर गाउँपालिकाले तलब थप गरेकाे छ ।’
सरकारले श्रम ऐनअनुसार घोषणा गरेको सेवा सुविधाबाट आफूहरू वञ्चित रहेको भन्दै देशभरका इसीडी शिक्षक र विद्यालय कर्मचारीहरू आन्दोलनमा छन् ।