काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको दुई महिना नबित्दै सत्ता गठबन्धनभित्र किचलो सुरु हुन लागेको छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी तथा लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुबीच एमसीसी एउटा टाउको दुखाइको विषय बनेको छ ।
पाँच दलमध्ये नेपाली काँग्रेस एमसीसीको पक्षमा रहेका छन् भने बाँकी दलका नेताहरुले त्यो नचाहिने संकेत गरेका छन् । एमसीसीले गठबन्धनभित्र थप समस्या ल्याउने निश्चित नै छ ।
यता प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्नुभन्दा अगाडी नै विभिन्न पदमा आफ्ना मान्छे नियुक्त गरेपछि सरकार निर्माणमा निर्णायक भूमिका खेलेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता माधकुमार नेपाल झस्किएका छन् ।
त्यस्तै मन्त्रिपरिषद विस्तार गर्नुभन्दा अगाडी नै देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाउन खोजेको संकेत गरेका छन् ।
देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आफ्नो दूतको रूपमा कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाएपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ ।