एनआरएनए तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन लन्डनमा-Sutra News

एनआरएनए तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन लन्डनमा

शनिबार, १९ भाद्र २०७८

शनिबार, १९ भाद्र २०७८

लन्डन- गैर-आवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ । १७ देखि १९ सेप्टेम्बरसम्म बेलायतको राजधानी लन्डनमा हुने सम्मेलनमा २५ देशका तीन सयभन्दा बढी नेपाली चिकित्सहरुको सहभागिता रहने छ ।



सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले बताए । सम्मेलन स्वास्थ्य क्षेत्रमा अनुसन्धान, स्वास्थ्य प्रवर्द्धन, प्रयोगशाला, नेपालमा रोक नियन्त्रण केन्द्र, नेटवर्किङलगायत स्वास्थ्यसम्बन्धी उपचार, रोकथाम र व्यवस्थापनमा केन्द्रित रहनेछ ।

सापकोटाकाअनुसार सम्मेलनमा विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, कोभिड-१९ महामारीको प्रभाव र चुनौती, नेपालमा खोपको सम्भावना, मुटुरोग, बालबालिका तथा महिलाहरुको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरुले कार्यपत्र पेस गर्नेछन् । लन्डनस्थित नेपाली दूतावास भवनमा उद्घाटन हुने सम्मेलनको समापन अल्डरसटमा गर्ने स्वास्थ्य समितिले जनाएको छ ।

नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको आतिथ्यमा हुने सम्मेलनलाई गैर-आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, डा. भगवान कोइराला, बेलायती उपल्लो सदनकी सदस्य लर्डस् ब्यानेरस क्यानेडी, डा.सुनिल शाह, गैर-आवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, एनआरएनए स्वास्थ्य अनुसन्धान समितिका संयोजक डा.बोधराज सुवेदीलगायतले सम्बोधन गर्नेछन् ।

सम्मेलनमा नेपाल मेडिकल काउन्सिल, अष्ट्रेलिया नेपाली मेडिकल काउन्सिल, नेपाल नर्सिङ एसोसियन युके, नेपाली डाक्टर एसोसिएसन युके, गैर-आवासीय नेपाली संघ युके, नर्सिङ नेपाली एसोसिएसन युकेलगायत एक दर्जन संघ-संस्था तथा प्रतिनिधिहरुको सहभागिता रहने छ ।

तीन दिनसम्म चल्ले सम्मेलनको पहिलो दिन चिकित्सकहरुले भर्चुअल माध्यमबाट आ-आफ्ना अनुसन्धान पत्र प्रस्तुत गर्ने छन् भने दोस्रो दिन सम्मेलनको औपचारिक उद्घाटन हुने छ ।

१९ सेप्टेम्बरमा लन्डन घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिने गैर-आवासीय नेपाली संघको कोभिड-१९ उच्चस्तरीय समितिका संयोजक चिरन शर्माले जानकारी दिए । गैर-आवासीय नेपाली संघको आयोजनामा यसअघि अमेरिकामा पहिलो र दोस्रो स्वास्थ्य सम्मेलन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट