काबुलमा विरोध प्रदर्शन गर्ने अफगान महिला अधिकारकर्मीमाथि दमन-Sutra News

काबुलमा विरोध प्रदर्शन गर्ने अफगान महिला अधिकारकर्मीमाथि दमन

शनिबार, १९ भाद्र २०७८

शनिबार, १९ भाद्र २०७८

काबुल- तालिबान शासनअन्तर्गत राजनैतिक अधिकारको खोजीमा काबुलमा भएको विरोधमा भाग लिएकी महिला अधिकारकर्मीमाथि दमन गरिएको छ । शनिबार अफगान महिलाहरूको अधिकारको सुनिश्चितताको माग गर्दै भएको प्रदर्शनमा तालिबान नियन्त्रित काबुलमा लाठी चार्ज गरिएको थियो ।



लाठिचार्ज पछि कतिपय अधिकारकर्मीहरूको टाउकोमा चोट लागेको र अनुहारमा रगत बगिरहेको भिडियो विभिन्न स्वदेशी ताथा विदेशी अनलाइन सञ्चारमाध्यमले विशेष स्थान दिई छापेका छन् ।

महिला अधिकारकर्मीहरुको नेतृत्वमा शनिबार भएको विरोध प्रदर्शनका क्रममा कार्यकर्ता नरगिस सददतले आफूलाई तालिबानले कुटपिट गरेको आरोप लगाइन् ।  टोलो न्युजकाअनुसार तालिबानले प्रदर्शनकारी राष्ट्रपतिको कार्यालयतर्फ अघि बढ्ने क्रममा लाठी तथा अश्रुग्यास प्रहार गरेका थिए ।

महिला कार्यकर्ता र प्रदर्शनकारीले राष्ट्रपति भवन (एआरजी) को गेट अगाडि विरोध प्रदर्शन गर्न चाहेको बताएका छन् तर अफगानिस्तानको इस्लामिक इमिरेट्सका सदस्यहरुले भने उनीहरुलाई विरोध गर्न नदिएको द खामा प्रेसले जनाएको छ ।

पत्रकार तथा अन्य व्यक्तिले सामाजिक सञ्जालमा सेयर गरेका भिडियो क्लिपकाअनुसार तालिबानले प्रदशर्नकारी महिलालाई तितरवितर पार्न हवाइ फाइर तथा अश्रुग्यासको प्रयोग गरेका खामा प्रेसले बताएको छ ।

शनिबारको विरोध तालिबानले कब्जा गरेदेखि अफगानिस्तानमा आयोजित चौथो महिला विरोध थियो । यसअघि पश्चिमी हेरात प्रान्त र अफगानिस्तानको राजधानीमा विरोध प्रदर्शनहरू भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट