महिला प्रदर्शनकारीलाई तालिबानले बन्दूकको कुन्दाले हिर्काए-Sutra News

महिला प्रदर्शनकारीलाई तालिबानले बन्दूकको कुन्दाले हिर्काए

आइतबार, २० भाद्र २०७८

आइतबार, २० भाद्र २०७८

काबुल- काबुलमा महिलाहरुले गरेको प्रदर्शनमा तालिबान अधिकारीहरुले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तितरबितर पारेका छन् ।



तालिबानले काबुल नियन्त्रणमा लिएपछि शनिबार पहिलो पटक महिलाहरुले प्रदर्शन गरेका थिए । महिला अधिकार सुनिश्चितको माग गर्दै राष्ट्रपति भवनतर्फ बढेका प्रदर्शनकारीलाई तालिबान लडाकूले टियर ग्याँस र पानीको छर्रा फालिदिएका थिए ।

महिलाको प्रदर्शन नियन्त्रणबाहिर गएको तालिबानले आरोप लगाएको छ । प्रदर्शनकारी महिला सोरयाका अनुसार तालिबानले केहीलाई बन्दूकको कुन्दाले हिर्काएर रक्ताम्य बनाएका थिए ।

महिलाले हेरात प्रान्तमा पनि प्रदर्शन गरेका थिए । उनीहरुले काम गर्न पाउने अधिकार र तालिबान सत्तामा आफ्नो सहभागिताको सुनिश्चतताको माग गरेका थिए । 
 
तालिबानले छिट्टै नयाँ सरकार गठन गर्ने बताइरहेका छन् । तालिबानले महिलालाई सरकारका बिभिन्न अंगमा सहभागीताको अवसर दिने  बताए पनि महिलामन्त्री नबनाउने बताउदै आएका छन् । 

यसअघि सन् १९६६ मा तालिबान सत्तामा हुँदा महिलाहरुलाई विभिन्न अधिकारबाट बञ्चित गरेकोले अहिले पनि महिला अधिकार कटौती हुन सक्ने चिन्ता अधिकारबादीहरुको छ ।

त्यतिबेला महिलालाई सम्पूर्ण शरिर ढाक्ने लुगा लगाउन बाध्य पार्नुका साथै सामान्य गल्तीमा पनि यातना दिन्थे । त्यस्तै, तालिवानले १२ वर्ष माथिका बालिकालाई बिद्यालय जान प्रतिबन्ध लगाएका थिए ।

‘२५ वर्षअघि तालिवानले मलाई विद्यालय जान रोकेका थिए,’ पत्रकार अजिता नाजिमी भन्छिन्, ‘उनीहरुको शासन समाप्त भएपछि मैले २५ बर्ष मिहिनेत गरेर अध्ययन गरे । महिलाले त्यस्तो दिन फेरी भोग्नु नपरोस । ’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट