काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसीको विरोध गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको बारेमा नेपालीहरु बोल्न नपाइने भनेर सूचना जारी गरेको भन्दै नेता रावलले आपत्ति जनाएका छन् ।
एक कार्यक्रममा बोल्दै उनले देउवालाई आफूले खुला रुपमा एमसीसीको विरोध गर्ने भनेर खुल्ला चुनौती दिएका छन् । उनले भने, ‘म राष्ट्रघाती एमसीसीको विरोध गर्छु, आउ मलाई समात । गृहमन्त्रालयको को छ यहाँ मलाई तत्काल समात ।’
देउवा सरकार अहिले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्छ भन्ने पक्षमा रहेको छ । यता सत्ता गठबन्धनका नेताहरु भने एमसीसी पास गर्न नहुनेमा जोड दिएका छन् ।
एमसीसीले सत्ता गठबन्धनका नेताहरुमा खटपट ल्याउन सुरु गरिसकेको छ । त्यस्तै एमसीसीको विरुद्धमा अहिले देशका धेरैजसो ठाउँहरुमा विरोध प्रदर्शन पनि भइरहेको छ ।