कृष्ण रेग्मी, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–२ धौखोलामा अवस्थित सुन झाँक्री र लटे झाँक्री गुफा प्रचारप्रसार तथा प्रवद्र्धनको अभावले ओझेलमा परेको छ ।
परापूर्वकालदेखि स्थानीय बासिन्दाले पूजाआजा गर्दै आएको उक्त प्राकृतिक गुफाको उचित संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक पूर्वाधार निर्माणको कामसमेत नहुँदा जीर्ण समेत बन्दै गएको छ ।
सुन झाँक्री र लटे झाँक्री गुफालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिने प्रचुर सम्भावना रहेको अधिकार सम्पन्न बागमती एकिकृत बिकास समिती गुहेश्वरी फाटका पूर्व बोर्डअफ डाइरेक्टर तथा बागमती सर सफाइ अभियानका अभियान्ता साथै कांग्रेस स्थानिय युवा नेता पदमपाणी रेग्मीले बताए । उनले भने, ‘प्राकृतिक हिसाबले सुन्दर तथा ऐतिहासिकस्थल सुन झाँक्री र लटे झाँक्री गुफा संरक्षण र प्रचारप्रसारको अभावले ओझेलमा परेको छ ।’
उक्त गुफामा विभिन्न किसिममा भगवानको मूर्ति र निशानासमेत रहेको छ । पुर्खाले गुफामा झाँक्री देवताको पूजा गर्दै आइरहेको र सोही ठाउँमा नागसमेत रहेको रेग्मीले बताए । उत्तरतर्फ फर्केको पहरामा अवस्थित गुफा वरिपरि ससाना गुफामा विभिन्न देवीदेवताको स्वरूप देखिने प्रतिमासमेत देख्न सकिने स्थानिय खिमानन्द रेग्मीले जानकारी दिए ।
प्राकृतिक गुफाको दायाँतर्फबाट ओरालो झर्ने क्रममा सबैभन्दा पहिले ठुलो पहाड देखिन्छ सोही पहाडको फेदमा गुफा भेटिन्छ । यहाँ विभिन्न किसिमका धार्मिक साधकले साधना गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । ढुङ्गैढुङ्गाले बनेको प्राकृतिक पहाराको फेदमा रहेको मुल गुफाभित्र गाईको थुन, शिव पार्वतीको मूर्ति, नाग नागिनी लगायत सुन जस्तो देखिने धातु र प्राकृतिक हिसाबले बनेको शिवको आकृति, शिव लिङ्ग र पार्वतीको मूर्तिमा स्तन, शंख घण्टसमेत स्पष्ट देख्न सकिन्छ ।
गुफाको आसपासमा हनुमानले उचालेको हिमालय पर्वत, कृष्णको बाँसुरी, जोर मादल, कामुधेनु गाईको दूध, बोधिचित्तको दाना, गुरु रिम्पाचेको पदचिह्न, जलविहार गर्ने कर्कटको आसनजस्ता आकृति हेर्न पाइन्छ । यी सबै प्राकृतिक शिलाको दैविक चिनारी रहेको स्थानिय शिक्षक उमाकान्त रेग्मीले बताए ।
सुन झाक्रि र लटे झाँक्री रूपमा चिनिने उक्त गुफाकोभित्र शिवजीले धारण गर्ने गोमन सर्पको फना खोलेको शिर छ । यस्तै पानीको मुहानबाट नागको अर्को आकार देख्न सकिन्छ । गुफाभित्र केही अप्ठ्यारो तर, प्वालबाट हेर्दा नागेलुम लुकेर बसेको जस्तो देखिन्छ । कुनै बेला महादेव शिव कैलाश पर्वतबाट बृखाशुर नामक राक्षससँग भाग्दै आउँदा गुफामा एक रात लुकेर बसेको किंवदन्ती छ ।
सुन झाँक्री र लटे झाँक्री गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएपनि गुफा वरिपरि पदमार्ग नहुँदा पदमार्ग निर्माण गर्न सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्छ । नगरपालिकाले बजेट विनियोजन गरेर धार्मिक पर्यटकको प्रचुर सम्भावना रहेको सुन झाँक्री र लटे झाँक्री गुफा स्तरोन्नतिका लागि पदमार्ग निर्माण गर्न आवश्यक छ ।