विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले अर्का नेता रविन्द्र मिश्रले मार्ग परिवर्तन गरेर आफ्नो पहिचान गुमाउन खोजेको बताएका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै नेता पाण्डेले मार्ग परिवर्तनको बाटोले पार्टीको आफ्नो पहिचान गुम्ने र पार्टीलाई सिर्फ व्यवस्था विरोधी समूहका रुपमा सीमित पार्ने बताएका हुन् ।
‘लहडमा मार्ग परिवर्तन गरेर विवेकशील साझा पार्टी अग्रगामी, गतिशील, प्रगतिशील पार्टी बन्छ ? संविधानलाई जोगाउने पार्टी बन्न सक्छ ? हिजोका उपलब्धिको रक्षा गर्ने पार्टी बन्छ ? अवश्य बन्दैन। मार्ग परिवर्तनको बाटोले पार्टीको आफ्नो पहिचान त गुम्छ-गुम्छ साथै यो मार्गले हाम्रो पार्टीलाई सिर्फ व्यवस्था विरोधी समूहका रुपमा सीमित गराउने छ ।’ उनले भनेका छन् ।
त्यस्तै उनले रवीन्द्र मिश्रले पार्टीको मूल बाटोमा रहेका नेताहरूलाई विभिन्न आरोप लाउँदै कारबाही गर्ने चेतावनी दिनु हास्याँपद भएको उल्लेख गरेका छन् । ‘ रवीन्द्रजीले पार्टीको मूल बाटोमा रहेका नेताहरूलाई विभिन्न आरोप लाउँदै कारबाही गर्ने चेतावनी दिनुभएको छ। यो हास्यास्पद छ। पार्टीको विधान र घोषणापत्रमा टेकेर गरिने कुनै पनि गतिविधि समानान्तर गतिविधि होइनन् ।’ उनले भने ।