समूहमा बसेर रक्सी पिउँदा छुट्दै नछुट्ने एउटा कुरा हो चियर्स । बरु सितन बिर्सिएला तर रक्सी खाँदा चियर्स गर्न भने बिर्सिइन्न । हरेकपल्ट साथीभाई बसेर रक्सी खाँदा पहिलो घुट्को (सिप) गर्नु अगाडि बोलिन शब्द हो– चियर्स ।
तर चियर्स किन गरिन्छ भन्ने कुरा सबैलाई थाहा नभएको हुन् सक्छ । अझ संसारमा रक्सी खानुपूर्व चियर्स कहिलेदेखि शुरु भयो होला भन्ने बारेमा पनि त्यति जानकारी पाईंदैन ।
रक्सी खाँदा सँगै बसेकारुले गिलास हातमा उठाएर चियर्स भन्ने गर्दछन् । तर चियर्स भनिसकेपछि एक घुटको नपिईकन त्यत्तिकै भूईमा राख्नुहुन्न भन्ने मान्यता छ । नयाँ सिकारुहरुले त्यसरी जिब्रोले नचाखि तल राख्न त्यो गर्नुहुन्न भन्छन् बानी परेकाहरु । चियर्स गर्ने चलनका बारेमा धेरैथरीका मान्यताहरु पाइन्छन् । एउटा चर्चित भनाईमा दुश्मन सेनाहरुको छलबाट जोगिन चियर्स गर्ने चलन चलेको हो ।
यो कथन अनुसार, घुमन्ते फिरन्तेयुगबाट कृषि युगमा संक्रमणको चरणमा कबिला, सामन्तहरुका बीच निकै युद्ध चर्किने गर्दथे ।
यी युद्धहरु सम्झौतामा टुंगिने बेला दुबै पक्ष कुनै चौरमा बसेर सम्झौता भोज गर्ने गर्दथे । यसरी सम्झौता गर्दा वल्लो छेउमा बसेकाहरुले उपहारस्वरुप उतापट्टि ठूलो कचौरामा रक्सी पठाउने गर्थे । तर कहिलेकाहिँ युद्धको नियमलाई उल्लंघन गर्दै कुनै पक्षले रक्सीमा विष मिसाउने गर्ने समेत गर्थे । जसले गर्दा एकपक्षको सेनापति मर्ने अवस्था हुन्थ्यो । यो स्थिति देखिएपछि पछि गएर दुबै सेनापतिहरु सँगै बस्ने, दुबै कचौराको रक्सी एक अर्कामा पोखिने गरी जोडले एक अर्कामा ठोक्काउने र त्यसपछि एक घुट्को सेवन गरेर मात्रै तल राख्ने चलन चल्यो । यसो गरेको खण्डमा यदि विष नै मिलाएको भएपनि दुबै पक्ष मर्ने सम्भावना रहन्थ्यो ।