बीपी प्रतिष्ठान संचालन गर्न मन्त्रालयको आग्रह-Sutra News

बीपी प्रतिष्ठान संचालन गर्न मन्त्रालयको आग्रह

आइतबार, २० भाद्र २०७८

आइतबार, २० भाद्र २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा संचालन गर्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले आन्दोलनरत पक्षलाई प्रतिष्ठानका अधिकांश माग भइसकेकाले स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील ठाउँको सेवा सुरु गर्न आग्रह गरेका छन् ।



‘आन्दोलनरत पक्षले उठान गर्नुभएका अधिकांश माग सम्बोधन भइसकेको, थप मागहरू सम्बोधनका क्रममा रहेका हुँदा कोभिड-१९ संक्रमण महामारीको अवस्थामा स्वास्थ्य जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्र खुला राखी स्वास्थ्य सेवा संचालन गर्नुहुन अनुरोध छ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मन्त्रालय र आन्दोलनरत पक्षबीच छ बुँदे सहमतिसमेत भइसकेको छ ।

मन्त्रालयले प्रतिष्ठानको समस्या पहिचान तथा छानविन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । सो समितिले तयार पारेको प्रतिवेदनसमेत पेस गरिसकेको र सोही प्रतिवेदनका आधारमा प्रतिष्ठान सुधार गर्नतर्फ मन्त्रालय लागिपरेको समेत उनले बताए ।

मन्त्रालयले चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलबाट प्रतिष्ठानले गरेका काम कारबाहीसम्बन्धी निरीक्षण एवं अनुगमन सम्पन्न भएको, प्रतिष्ठान कार्यरत उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकलाई गतिरोध अन्त्य गर्न सहज निकासका लागि मार्ग प्रशस्त गर्न निर्देशन भएको, उपकुलपतिलाई प्राध्यापक उपाधिको प्रमाणपत्र पेस गर्नका लागि पत्राचार भइसकेको जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट