काठमाडौं- सत्ता, शक्ति र पैसाका लागि नै नेताहरू मन्त्री बन्न तँछाडमछाड गर्छन् । मन्त्री भएपछि राज्यको ढुकुटी बाँडेर समर्थकलाई पाल्न सकिन्छ । जब नेता चुनावमा होमिन्छन्, सांसद भएपछि कसरी मन्त्री हुन पाइन्छ भन्ने उनीहरूको ध्यान केन्द्रित हुन्छ ।
मन्त्रीका लागि शपथ खान जाने क्रममा बाटैमा नाम कटिएको खबर भएका गण्डकी प्रदेशका सांसद दोबाटे विश्वकर्मा मानप्रतिष्ठा, इज्जतकै कारण मन्त्रीप्रति आकर्षण बढेको ठान्छन् । ‘सांसद भएपछि मन्त्री हुन्छु भन्नु स्वाभाविक नै हो । सबै आशा र विश्वास पनि हुन्छ,’ उनले भने, ‘मान प्रतिष्ठा, इज्जतकै लागि मन्त्री बन्ने चाहना हुन्छ ।’ तर, नेपालमा प्रजातन्त्र आएको ७०-७२ वर्षमा सत्तामा एउटै वर्ग र समुदायको वर्चश्व छ । कांग्रेसका नेता एवं सांसद प्रकाश रसाइली दोबाटे काण्डले पनि नेपालको राजनीतिमा एउटै वर्ग र समुदायको हालीमुहाली रहेको पुष्टि हुने बताउँछन् । ‘७० वर्षमा पनि राज्यको स्रोत साधन समान वितरण भएको छैन,’ उनले भने, ‘आफ्नै वर्ग र समुदायबाहेक अरू गौण हुन्छ ।’
मन्त्रीमा मान, प्रतिष्ठा, इज्जत छ, यसले गर्दा मन्त्री बन्न लालयित हुन्छन् । अरूलाई सडकमा जाम हुन्छ तर मन्त्रीलाई हुँदैन । मन्त्री चढेको गाडी सडकमा साइरन बजाउँदै आएपछि बाटो छोडिदिनुपर्छ । ट्राफिक प्रहरीले मन्त्रीलाई पठाएर मात्रै सर्वसाधारणलाई पठाउँछ । सुख, सयल, सुविधाको उपयोग गर्न पाइन्छ । उद्घाटन, शिलान्यासमा भ्याइनभ्याइ हुन्छ । राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार मान, प्रतिष्ठा, अभिमान प्रदर्शन गर्न पनि मन्त्री पदमा पाउन नेता हत्ते गर्छन् ।
मन्त्री बनेपछि राज्यको ढुकुटी दोहन गर्न सजिलो हुन्छ । राज्यको पैसा आफ्नो तजबिजमा खर्च गर्न पाइन्छ । बजेटको भरपुर उपयोग गर्न सकिन्छ । गर्नुपर्ने नपर्ने जेमा खर्च गर्न सहज हुन्छ । राजनीतिक विश्लेषक श्रेष्ठ नेताले मन्त्री पदलाई पैसा कमाउने साधन सम्झेको बताउँछन् । उनी पैसा र पावर हात पार्न नै मन्त्री बन्न लडाइँ हुने गरेको देख्छन् । चप्पल लगाएर सिंहदरबार छिरेका कतिपयले मन्त्री भएपछि अर्बौं सम्पत्ति कमाएका छन् । चिरन्जीवी वाग्ले, खुमबहादुर खड्का, जयप्रकाश गुप्ता, रवीन्द्रनाथ शर्मा, अख्तियारले अकुत सम्पत्तिमा मुद्दा चलाएर दोषी नै करार भएका छन् ।
मन्त्रीपद नेताका लागि नेतृत्व हत्याउने साधन पनि हो । मन्त्री भएपछि सत्ता र शक्ति, पैसाको बलमा पार्टीमा शक्ति हत्याउन सहज हुन्छ । जसले मन्त्री बन्न प्रतिस्पर्धा हुन्छ । कार्यकर्तालाई राज्यको पैसा बाँडेर पार्टीमा शक्ति आर्जन हुन्छ । राज्यका विभिन्न निकाय राजनीतिक नियुक्तका लागि राखिएका छन् । मन्त्रीले ती ठाउँमा राजनीतिक नियुक्ति गरेर आफ्नो राजनीतिक पकड बलियो बनाउन सक्छन् । कर्मचारी सरुवा, बढुवामा चलखेल गर्न सकिन्छ ।
चुनावको खर्च उठाउन सजिलो हुने भएकाले मन्त्री बन्न लालायित हुने गरेका छन् । चुनाव प्रणाली नै महँगो छ । निर्वाचन प्रणालीकै कारण पनि सांसद बनिसकेपछि मन्त्री बन्नुपर्ने अवस्था रहेको एक सांसदले नाम नभन्ने सर्तमा बताए । ‘के गर्ने, चुनाव खर्च यति धेरै हुन्छ, चुनावको खर्च तिर्न सांसद मात्र भएर कहाँ सकिन्छ र एक पटक मन्त्री नभए त ?’ उनले भने ।
पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका नेता मो.इस्तियाक राईले सांसद भएपछि मन्त्री बन्ने चाहना र आकांक्षा सबैको हुने बताए । ‘जनताको चाहना आफ्नो क्षेत्रमा बाटो, खानेपानी, बिजुलीको व्यवस्था गरिदियोस् भन्ने हुन्छ,’ उनले भने, ‘अनि किन बन्न नखोज्ने ? त्यसका लागि त मन्त्री बन्नै पर्छ, अरू मन्त्रीसँग आफ्नो जिल्ला र क्षेत्रको विकासमा पनि बार्गेनिङ गर्नुपर्छ ।’ अन्नपूर्ण पोस्टबाट