तिजको दिन मौसम कस्तो रहला ? यसो भन्छन् मौसमविद्-Sutra News

तिजको दिन मौसम कस्तो रहला ? यसो भन्छन् मौसमविद्

मंगलबार, २२ भाद्र २०७८

मंगलबार, २२ भाद्र २०७८

काठमाडौं- बिहीबार अर्थात् २४ भदौमा हरितालिका तिज मनाइँदैछ । त्यसको अघिल्लो दिन बुधबार दरखाने प्रचलन नारीहरूमा छ । अघिल्लो वर्ष कोभिड-१९ कै कारण जमघटसहित तिज मनाउन पाइएन, यो पटक पनि कोभिड-१९ कै जोखिम छ ।



यद्यपि, तिजमा ब्रत बस्ने, एकाघर परिवारमा रमाइलो गर्दा समस्य नहुने जनस्वास्थ्यविद्हरूले बताएका छन् । अर्काे चिन्ता छ-आइतबार साँझबाट मौसम प्रतिकूल बनेपछि यो पटकको तिज पनि हिलाेमय हुने त होइन ? आइतबार रातिकोजस्तो ठूलो वर्षा नभए पनि सोमबार राति पानी परेको छ ।

मंगलबार बिहान काठमाडौंसहितको आकाशमा बादल लागेको छ-प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाकाअनुसार मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै  तथा प्रदेश १, बागमती र लुम्बिनीका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्सहित भारी वर्षाको सम्भावना  छ ।

बुधबार र बिहीबार दिउँसो भारी वर्षाको सम्भावना नभए पनि बादल लागिरहने र बेलाबेला पानी पर्नसक्ने उनले बताए । जसले तिजकाे पूजाआजा गर्न मठमन्दिर हिँडेका नारीलाई असर गर्नसक्छ-सडकमा हिलाे बढ्न सक्छ ।

हाल नेपालमा बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभाव छ भने पश्चिम नेपालमा मनसुनी न्यून चापीय रेखाको असर छ । उक्त रेखाका कारण सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी र गण्डकीका पश्चिमी भेगमा वर्षाको सम्भावना छ । हाल तराई नजिक रहेको मनसुनी रेखा उत्तर-पूर्व सर्दै गएमा अझ वर्षा हुनसक्ने आँकलन मौसमविद्ले गरेका छन् । 

‘बर्खामा पानी नपर्ने भन्ने हुँदैन । बादल लाग्ने, पानी पर्ने त भइरहन्छ,’ मौसमविद् सापकोटाले भने, ‘यसले हिलो त पक्कै बनाउँछ नै तर आइतबार रातिको जस्तो ठूलो वर्षा भइहाल्ने देखिँदैन ।’

तर, तिजको दिन अर्थात बिहीबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र अन्य प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जसको असर काठमाडौं उपत्यकामा पनि पर्ने मौसमविद् सापेकाटाले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट