काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग नेपाली काँग्रेस लड्न डराएको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग काँग्रेस लड्न आँट नगरेको तर भर्खर निर्वाचन आयोगबाट मान्यता पाएको माधवकुमार नेपाल नेतृत्वको पार्टी लड्न खोजेको बताएका हुन ।
कार्यक्रममा बोल्दै उनले भने, ‘एमालेसँग काँग्रेस लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो उम्रिन पाएको छैन एमालेसँग लड्ने सपना देख्छ ।’
ओलीले आफू नेकपाको अध्यक्ष र प्रधानमन्त्री हुँदा पनि माधव नेपालले आफूलाई देख्न नसकेको उल्लेख गरे ।
ओलीले संसद्ले काम गर्न पनि नसक्ने र बच्न पनि नसकेपछि आफूले दुइपटकसम्म संसद विघटन गरेको दाबी गरेका छन् । आफूले आवश्यकताअनुसार संसद विघटन गरेको भएतापनि सर्वोच्च अदालतले आफ्नै छुट्टै नियम बनाएर संसद विघटन बदर गरेको उनको तर्क छ ।