राति निद्रा नलाग्ने समस्या भए यसो गरी हेर्नुहोस् त !-Sutra News

राति निद्रा नलाग्ने समस्या भए यसो गरी हेर्नुहोस् त !

मंगलबार, २२ भाद्र २०७८

मंगलबार, २२ भाद्र २०७८

सुत्ने बानीबेहोरामा केही सुधार गरे मानिसहरूले आफ्नो ‘शरीरको घडी’ मा परिवर्तन गर्न सक्ने र स्वास्थ्यमा सुधार गर्न सक्ने वैज्ञानिकहरूले बताएका छन् । यूके र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले राति नसुतीकन सक्रिय रहने मानिसहरूमा एक अध्ययन गरेका थिए ।



उनीहरूका अनुसार सधैं एउटै निश्चित समयमा सुत्ने गरेमा, क्याफिन नखाएमा र बिहान पर्याप्त घाममा बसेमा निद्रासम्बन्धी समस्या निराकरण गर्न सकिन्छ । सुन्दा सामान्य लागे पनि यो शैली अनुकरण गरे यसले महत्त्वपूर्ण प्रभाव पार्न सक्ने उनीहरूको धारणा छ । सबै मानिसको शरीरमा एउटा ‘जैविक घडी’ हुन्छ ।

त्यो सूर्योदय र सूर्यास्तसँग अनुकूल भएको हुन्छ । त्यसैले हामीलाई उज्यालो नभएको रातिको समयमा निद्रा लाग्ने गर्छ । तर केही मानिसको घडी अरूको भन्दा ढिलो चल्छ । केही मानिस बिहान सबेरै उठ्छन् र उनीहरूलाई राति जागा बस्न गाह्रो हुन्छ । तर राति सक्रिय हुने मानिसमा यो प्रकृया उल्टो हुन्छ ।

उनीहरूको समस्या भनेको के हो भने आफ्नो शरीर तयार हुनुभन्दा अगाडि नै अलार्मको सहयोगमा बिहान बिउँझनुपर्छ । सधैँ राति जागा बस्ने मानिसमा स्वास्थ्यको समस्या देखिने गरेको छ ।

वैज्ञानिकहरूले उल्लूजसरी रातभरि जागा बस्ने अर्थात राति निद्रा नलाग्ने चर्को समस्या भोगिरहेका २१ जना व्यक्तिमा अध्ययन गरेका थिए । सरदर उनीहरू बिहान साढे दुई बजे मात्रै सुत्थे र बिहान १० बजेसम्म उठ्दैनथे ।

उनीहरूलाई यस्तो निर्देशन दिइयो

-पहिलाभन्दा २-३ घण्टा अगाडि उठ्ने र बिहान बाहिर गएर पर्याप्त उज्यालोमा बस्ने

-सकेसम्म चाँडै विहानको खानेकुरा खाने

-बिहान मात्रै शारीरिक व्यायाम गर्ने

-सधैँ एउटै समयमा दिउँसोको खाना खाने र राति सात बजेपछि केही नखाने

-दिउँसो तीन बजेपछि क्याफिन भएको पेयपदार्थ सेवन नगर्ने

-दिउँसो चार बजेपछि छोटो समयका लगि भएपनि नसुत्ने

-पहिलाभन्दा २-३ घण्टा अगाडि सुत्ने र राति सुत्ने ठाउँमा धेरै उज्यालो हुन नदिने

-प्रत्येक दिन उही समयमा सुत्ने र उही समयमा उठ्ने

युनिभर्सिटी अफ बर्मिङ्घम, युनिभर्सिटी अफ सरी र मोनाश युनिभर्सिटीले गरेको विश्लेषणमा तीन हप्तापछि यो निर्देशन पालना गर्ने मानिसको जैविक घडीमा दुई घण्टाले सुधार भएको देखायो । स्लीप मेडिसिन नामक जर्नलमा प्रकाशित शोधमा ती मानिसहरू उति नै घण्टा सुत्न सकेको उल्लेख छ ।

युनिभर्सिटी अफ सरीमा प्राध्यापन गर्ने डेब्रा स्किनी भन्छीन्, ‘सामान्य दैनिकी बनाउँदा राति निद्रा नपर्नेहरूलाई पनि आफ्नो शरीरको घडी अनुकूल पार्न र समग्रमा आफ्नो शारीरिक र मानसिक स्वास्थ्य सुधार्न सहयोग पुग्यो । निद्रा नपुग्दा र शरीरको घडी नमिल्दा धेरै शारीरिक प्रकिया अवरुद्ध हुन्छन् र त्यसो हुँदा हृदयरोग, क्यान्सर र मधुमेहको जोखिम बढ्छ ।’

शरीरले प्रकाशप्रति विशेष प्रतिक्रिया देखाउँछ । तसर्थ शरीरलाई दिउँसो धेरै र राति कम प्रकाश देखाउनुपर्छ । सुत्ने र उठ्ने समयमा एकरूपता नहुँदा पनि शरीरको जैविक घडी अलमलिन्छ । यो अध्ययनमा प्रयोग गरिएको विधि सामान्य सुझावजस्तो लागे पनि यो पालना गर्दा शरीरको घडीलाई अनुशासित बनाउन सहयोग पुग्छ ।

अनुसन्धनकर्ताहरूलाई ढिलो सुत्ने बानी परेकाहरूमा कस्तो प्रभाव पर्छ भन्ने थाहा थिएन । युनिभर्सिटी अफ बर्मिङ्घमका डा.एन्ड्रयू ब्याग्शोका अनुसार यी सामान्य कुरा जोसुकैले गर्न सक्छन् र त्यसबाट परिवर्तन पनि हुन्छ । बीबीसी 

सांकेतिक तस्बिर । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट