काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ । बुधबार अपराह्न बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्नका लागि एजेन्डा बनाउनका लागि एमालेले संसदीय दलको बैठक बोलाएको थियो ।
आजको प्रतिनिधिसभा बैठकमा एमाले कडा रुपमा प्रस्तुत हुने संकेत देखिएको छ ।
नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेपछि सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध खासै राम्रो छैन । दुई पक्षबीच सम्बन्ध चिसिएका बेलामा बोलाइएको प्रतिनिधिसभा बैठकलाई निकै नै महत्वपूर्ण तरिकाले हेरिएको छ ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आएको छ । पार्टी निर्णयअनुसार माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारबाही नगरेको भन्दै एमालेले सभामुख सापकोटाको भूमिका निष्पक्ष नभएको टिप्पणी यसअघि नै गरेको थियो ।