नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेलाबेलामा पार्टी विघटनको कुरा गरिरहन्छन् । बुधवार सुरेश वाग्ले र भिमसेन पोखरेलको २३ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा पनि प्रचण्डले पार्टी विघटनको प्रसंग दोहोर्याए ।
‘क्रान्तिका कुरा गर्दै हिंड्ने, तर व्यवहारमा प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिने खालको पार्टी बनाउनु भन्दा त विघटन नै गरे ठीक हुन्छ,’ प्रचण्डले भने, ‘एमाले जस्तै हुने हो भने यो पार्टीको आवश्यकता र औचित्य नै के रह्यो र ?’
गत शुक्रवार पनि उनले वागमती प्रदेश समितिको प्रशिक्षणमा बोल्दै पार्टी विघटनकै कुरा ल्याएका थिए । ‘जनताका लागि काम नगर्ने हो भने पार्टी विघटन गरिदिए हुन्छ,’ उनले भनेका थिए ।
प्रचण्डले २०७४ सालको स्थानीय निकायको निर्वाचन चलिरहँदा पनि पार्टी विघटन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपालाई विभाजित गरेर पूर्ववत एमाले र माओवादी केन्द्र ब्युँताएको थियो । त्यसपछि बसेको माओवादी केन्द्रीय समितिको बैठकमा पार्टीको नाम नै फेर्ने बहससमेत उठेको थियो । ‘माओवादी’ ट्याग लाग्दा अन्तर्राष्ट्रिय सम्बन्धमा समेत असर परेकाले पार्टीको नाम नै फेर्नु उपयुक्त हुने राय कतिपय केन्द्रीय सदस्यहरूले दिएका थिए ।
प्रचण्डले जनयुद्ध शुरू हुँदादेखि माओवादीको नेतृत्व गरेका छन् । २०५२ सालदेखि अहिलेसम्म २६ वर्षसम्म प्रचण्ड निरन्तर पार्टीको नेतृत्वमा छन् । तर यो बीचमा प्रचण्डले पार्टी भने पटक-पटक विघटन र पुनर्गठन गरेका छन् ।
२०४६ सालको जनआन्दोलनपछि एकथरी एमाले मा ध्रुविकरण भए, अर्काथरी केही शक्ति स–साना समूहमा विभाजित छन् भने कम्युनिस्ट आन्दोलनको मूल प्रवाह पार्टीका रूपमा हालसम्म माओवादी केन्द्र रहेको छ ।
२०६४ सालमा नेकपा मसालका नेता नारायणकाजी श्रेष्ठलगायतसँग पार्टी एकता भएपछि तत्कालीन नेकपा माओवादी विघटन भएर एकीकृत माओवादीका रूपमा पुनर्गठन भएको थियो ।
पहिलो संविधानसभा विघटन भएपछि २०६९ सालमा एकीकृत माओवादी विभाजन भयो । मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजन भएको थियो । दोस्रो संविधानसभाको निर्वाचनपछि वैद्यलाई छोडेर रामबहादुर थापाले पुनः प्रचण्डसँग एकीकरण गरे । त्यसपछि पार्टीको नाम माओवादी केन्द्र राखियो ।
२०७५ जेठ ३ गते माओवादी केन्द्र र एमाले दुवै विघटन भएर नेकपा बने । तर नेकपाको एकता तीन वर्षसम्म पनि टिक्न सकेन । गत फागुन २३ गते सर्वोच्च अदालतले नै पूर्ववत एमाले र माओवादी केन्द्रलाई ब्युँताएको थियो ।
माओवादी केन्द्रका एक नेताले भने – ‘माओवादी नाम दीर्घकालीन जनयुद्धसँग जोडेर राखिएको थियो । चीनमा माओले लामो समयसम्म युद्ध गरे, सत्ता कब्जा पनि गरे । तर नेपालमा १० वर्षसम्म मात्र जनयुद्ध चल्यो र सत्तासँग सम्झौतामा गएर टुंगियो । अब पार्टी पुनःगठन गर्नुपर्दा माओवादकै नाम राख्न उपयुक्त हुँदैन भन्ने कुरा उठेको छ ।’
पार्टीको नाम फेरेर समाजवादी या अन्य कुनै पुच्छर झुन्ड्याउने हो भने तत्कालीन माओवादी घटकहरूमध्ये बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीसँग एकीकरण गर्न सहज पर्ने प्रचण्डको बुझाइ छ । त्यस्तै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँग त एकीकरण गरेर अघि बढ्ने विषयमा नेपाल र प्रचण्डबीच सहमति नै बनेको छ ।
जनयुद्धलाई गौरवका रूपमा लिने र माओ विचारधारालाई विकसित गरेर प्रचण्डपथ बनाउनेसम्म अभ्यास गरेको माओवादी केन्द्रलाई आफ्नै नाम अहिले घाँडो बनेको जस्तो देखिएको छ । ‘माओवादी’ नामले पार्टीलाई अन्तर्राष्ट्रिय समुदायमा उग्र कम्युनिस्टको छबी दिलाएको चर्चा अहिले पार्टीभित्रै चल्ने गरेको छ ।
नाम माओवादी भएपनि पार्टीले अहिले माओवाद स्वीकारेको छैन । माओवाद अपनाउने कि माओ विचारधारा अपनाउने भन्नेमा पार्टीभित्र विवाद छ । त्यसैले पनि प्रचण्डले पार्टीको नामबाट माओवाद हटाउन चाहन्छन् । सिधा नाम मात्र हटाउँदा देशभरिका कार्यकर्ताले विरोध गर्ने सम्भावना पनि उत्तिकै छ । त्यसैले पार्टी विघटन र पुनःगठनको विषयलाई प्रचण्डले बारम्बार उचाल्ने गरेका हुन् ।