नेपाली काँग्रेसका नेता तथा भिरकोट नगरपालिकाका मेयरसमेत रहेका छायाँराम खनालले जिल्ला अधिवेशनमा सभापतिका रुपमा आफूलाई उभ्याउने भएका छन् ।
सूत्रन्यूजसँग कुरा गर्दै नेता खनालले आसन्न अधिवेशनका लागि आफू सभापतिमा उम्मेदवारी दिने पुष्टि गरे ।
जिल्लामा काँग्रेसको साख घट्दै गएको तथा पछिल्लो समय काँग्रेसमा आन्तरिक द्वन्द बढ्दै गएको हुनाले त्यसको व्यवस्थापन गर्दै काँग्रेसलाई एकढिक्का बनाएर अगाडी लैजानका लागि आफूले उम्मेदवारी दिने उनले बताए । सूत्रन्यूजसँग कुराकानीको क्रममा उनले भने, ‘ जिल्लामा पछिल्लो समय काँग्रेसको बर्चस्व र साख घट्दै गएको छ, यसलाई पुनर्वाजिवित गराउन जिल्लामा सक्षम नेतृत्वको आवश्यकता रहेको छ । त्यसैले म सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’
उनले आफूले जीवनको सबै समय राजनीतिमा खर्च गरेको हुनाले आम मानिसहरुले आफ्नो कामलाई हेर्दै सभापति बन्न सहयोग गर्ने दाबी गरे । उनले भने, ‘ जीवनको महत्वपूर्ण समय मैले राजनीतिमा खर्च गरेको छु, राजनीतिक जीवनमा मैले केही नराम्रो गरेजस्तो लाग्दैन त्यसैले स्याङ्जाको सभापति बन्नमा मलाई कसैले पनि असहयोग गर्ला जस्तो लाग्दैन ।’
उनले नेतृत्व गर्ने जिम्मेवारी पाए आफूले राम्रोसंग काम गर्ने तर पदका लागि भने महत्वाकांक्षा नभएको प्रष्ट पारे । उनले भने, ‘ पद केही कुरा होइन, मुख्य कुरा काम हो । राम्रो काम गर्नलाई पद नै चाहिन्छ भन्ने पनि होइन, त्यसैले आफूले अहिलेसम्म गरेको कामअनुसार मैले स्याङ्जा जिल्लाको नेतृत्वको जिम्मेवारी लिन खोजेको हो । मलाई पदको महत्वाकांक्षा पनि छैन । ‘
नेता खनाल झन्डै चार दशकदेखि निरन्तर रुपमा काँग्रेसबाट राजनीति गर्दै आइरहेका छन् । २ पटक सम्म तत्कालिन स्वरेक गाविस र अहिले भिरकोट नगरपालिकाको मेयर पदमा रहेर काम गरिरहेका छन् ।
आगामी अधिवेशनका लागि स्याङ्जा जिल्लाबाट छायाराम खनाल, बुद्धीबहादुर राना र राजु थापाले उम्मेदवारी घोषणा गरेका छन् । अहिले नेता बुद्धीबहादुर रानाले स्याङ्जा काँग्रेसको नेतृत्व गरिरहेका छन् ।