कार्यकर्ताहरुको व्यवहार देखेर प्रचण्ड रुष्ट, भने- यस्तै ताल हो भने एमालेमा गए हुन्छ !-Sutra News

कार्यकर्ताहरुको व्यवहार देखेर प्रचण्ड रुष्ट, भने- यस्तै ताल हो भने एमालेमा गए हुन्छ !

बुधबार, २३ भाद्र २०७८

बुधबार, २३ भाद्र २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू आफ्नै पार्टीको गतिविधिहरुबाट रुष्ट भएको संकेत व्यक्त गरेका छन् । त्यस्तै उनले  एमसीसी देखाएर गठबन्धन फुटाउने प्रयास भएको बताएका छन् ।



बुधबार बिहान माओवादी नेता सुरेश वाग्लेको २३ औं स्मृति दिवसमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले माओवादीका कार्यकर्ताहरुले पछिल्लो समय एमालेले जस्तै व्यवहार देखाउन सुरु गरेको बताए । उनले भने, ‘ हामी पनि एमालेजस्तै हुने भए हाम्रो पार्टी किन चाहियो ?’ गुट बनाएर पार्टी विभाजन गर्नुभन्दा एमालेमा नै जानु राम्रो होला ।’

त्यस्तै उनले केही शक्तिहरु मिलेर एमसीसीलाई देखाउँदै सत्ता गठबन्धन तोड्ने प्रयास गरेको बताएका छन् ।

‘एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् ।’ उनले भने ।

‘क्रान्तिका कुरा गर्दै हिंड्ने, तर व्यवहारमा प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिने खालको पार्टी बनाउनु भन्दा त विघटन नै गरे ठीक हुन्छ,’ प्रचण्डले भने, ‘एमाले जस्तै हुने हो भने यो पार्टीको आवश्यकता र औचित्य नै के रह्यो र ?’

गत शुक्रवार पनि उनले वागमती प्रदेश समितिको प्रशिक्षणमा बोल्दै पार्टी विघटनकै कुरा ल्याएका थिए । ‘जनताका लागि काम नगर्ने हो भने पार्टी विघटन गरिदिए हुन्छ,’ उनले भनेका थिए ।

प्रचण्डले २०७४ सालको स्थानीय निकायको निर्वाचन चलिरहँदा पनि पार्टी विघटन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपालाई विभाजित गरेर पूर्ववत एमाले र माओवादी केन्द्र ब्युँताएको थियो । त्यसपछि बसेको माओवादी केन्द्रीय समितिको बैठकमा पार्टीको नाम नै फेर्ने बहससमेत उठेको थियो । ‘माओवादी’ ट्याग लाग्दा अन्तर्राष्ट्रिय सम्बन्धमा समेत असर परेकाले पार्टीको नाम नै फेर्नु उपयुक्त हुने राय कतिपय केन्द्रीय सदस्यहरूले दिएका थिए ।

प्रचण्डले जनयुद्ध शुरू हुँदादेखि माओवादीको नेतृत्व गरेका छन् । २०५२ सालदेखि अहिलेसम्म २६ वर्षसम्म प्रचण्ड निरन्तर पार्टीको नेतृत्वमा छन् । तर यो बीचमा प्रचण्डले पार्टी भने पटक-पटक विघटन र पुनर्गठन गरेका छन् ।

२०४६ सालको जनआन्दोलनपछि एकथरी एमाले मा ध्रुविकरण भए, अर्काथरी केही शक्ति स–साना समूहमा विभाजित छन् भने कम्युनिस्ट आन्दोलनको मूल प्रवाह पार्टीका रूपमा हालसम्म माओवादी केन्द्र रहेको छ ।

२०६४ सालमा नेकपा मसालका नेता नारायणकाजी श्रेष्ठलगायतसँग पार्टी एकता भएपछि तत्कालीन नेकपा माओवादी विघटन भएर एकीकृत माओवादीका रूपमा पुनर्गठन भएको थियो ।

पहिलो संविधानसभा विघटन भएपछि २०६९ सालमा एकीकृत माओवादी विभाजन भयो । मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजन भएको थियो । दोस्रो संविधानसभाको निर्वाचनपछि वैद्यलाई छोडेर रामबहादुर थापाले पुनः प्रचण्डसँग एकीकरण गरे । त्यसपछि पार्टीको नाम माओवादी केन्द्र राखियो ।

२०७५ जेठ ३ गते माओवादी केन्द्र र एमाले दुवै विघटन भएर नेकपा बने । तर नेकपाको एकता तीन वर्षसम्म पनि टिक्न सकेन । गत फागुन २३ गते सर्वोच्च अदालतले नै पूर्ववत एमाले र माओवादी केन्द्रलाई ब्युँताएको थियो ।

माओवादी केन्द्रका एक नेताले भने – ‘माओवादी नाम दीर्घकालीन जनयुद्धसँग जोडेर राखिएको थियो । चीनमा माओले लामो समयसम्म युद्ध गरे, सत्ता कब्जा पनि गरे । तर नेपालमा १० वर्षसम्म मात्र जनयुद्ध चल्यो र सत्तासँग सम्झौतामा गएर टुंगियो । अब पार्टी पुनःगठन गर्नुपर्दा माओवादकै नाम राख्न उपयुक्त हुँदैन भन्ने कुरा उठेको छ ।’

पार्टीको नाम फेरेर समाजवादी या अन्य कुनै पुच्छर झुन्ड्याउने हो भने तत्कालीन माओवादी घटकहरूमध्ये बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीसँग एकीकरण गर्न सहज पर्ने प्रचण्डको बुझाइ छ । त्यस्तै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँग त एकीकरण गरेर अघि बढ्ने विषयमा नेपाल र प्रचण्डबीच सहमति नै बनेको छ ।

जनयुद्धलाई गौरवका रूपमा लिने र माओ विचारधारालाई विकसित गरेर प्रचण्डपथ बनाउनेसम्म अभ्यास गरेको माओवादी केन्द्रलाई आफ्नै नाम अहिले घाँडो बनेको जस्तो देखिएको छ । ‘माओवादी’ नामले पार्टीलाई अन्तर्राष्ट्रिय समुदायमा उग्र कम्युनिस्टको छबी दिलाएको चर्चा अहिले पार्टीभित्रै चल्ने गरेको छ ।

नाम माओवादी भएपनि पार्टीले अहिले माओवाद स्वीकारेको छैन । माओवाद अपनाउने कि माओ विचारधारा अपनाउने भन्नेमा पार्टीभित्र विवाद छ । त्यसैले पनि प्रचण्डले पार्टीको नामबाट माओवाद हटाउन चाहन्छन् । सिधा नाम मात्र हटाउँदा देशभरिका कार्यकर्ताले विरोध गर्ने सम्भावना पनि उत्तिकै छ । त्यसैले पार्टी विघटन र पुनःगठनको विषयलाई प्रचण्डले बारम्बार उचाल्ने गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट