काठमाडौँ । सरकारले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गर्ने भएको छ । उल्लेखित खर्च कटौती गरेर बचेको रकम सरकारले कोरोनाका लागि खर्च गर्ने भएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् ।
‘चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, कर्मचारी तालिम, सिप विकास तथा जनचेतना तालिम, अनुगमन मुल्यांकन भ्रमण खर्च, विविध कार्यक्रम शीर्षकमा न्यूनमत १० प्रतिशत बजेट कटौती गरेको छु । यसरी खर्च कटौती गर्दा तत्काल बचत हुन आउने देखिएको ५ अर्ब कोभिड खोपका लागि उपयोग गर्ने प्रवन्ध मिलाएको छु ।’ उनले भने ।
त्यस्तै सरकारले मृगौलापीडित बिरामीका लागि मासिक ५ हजार रुपैयाँ दिने भएको छ । भूकम्पपछिको पुनर्निर्माणका २०७८ मंसिर मसान्तभित्र सम्पन्न गरिने मन्त्री शर्माले जानकारी दिए ।
त्यस्तै मन्त्री शर्माले संसदमा शुक्रबार प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै कोभिडबाट प्रभावित भएर रोजगारी गुमाएका तथा असंगठित क्षेत्रका पाँच लाख विपन्न परिवारलाई एकपटक १० हजार रुपैयाँका दरले नगद अनुदान दिने बताएका छन् ।