नाराबाजी नगरेका र ताली नपिटेका ‘मध्यमार्गी’ सांसदलाई ओलीले भने – सक्रिय अवरोध गरेको खै ?-Sutra News

नाराबाजी नगरेका र ताली नपिटेका ‘मध्यमार्गी’ सांसदलाई ओलीले भने – सक्रिय अवरोध गरेको खै ?

शुक्रबार, २५ भाद्र २०७८

शुक्रबार, २५ भाद्र २०७८

प्रतिनिधि सभाको चालू नवौं अधिवेशनको शुरूकै बैठक चल्न नदिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अनेकन हत्कण्डा अपनाएको छ । दुई/दुई पटक गैरसंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै आफ्ना सांसदहरूलाई संसदीय सर्वोच्चताको नारा लगाउन निर्देशन दिएका छन् ।



बुधवार बसेको पहिलो बैठकमा एमालेका सांसदहरूमध्ये निरुदेवी पाल, महेश बस्नेत, खगराज अधिकारी र अन्य केहीले बेलमा उभिएर चर्को नाराबाजी गरिरहेका थिए । तर अन्तिम समयमा ओलीलाई नै साथ दिएका माधवकुमार नेपाल पक्षीय ‘मध्यमार्गी’ नेताहरू भने चुप देखिन्थे । गंगा चौधरी भने रोष्ट्रममै उक्लिन खोजेकी थिइन् ।

योगेश भट्टराई, घनश्याम भुसाल, भीम रावल, सुरेन्द्र पाण्डे लगायतका दश भाइ सांसदहरूले संसद अवरुद्ध गर्न सक्रिय सहभागिता देखाएका छैनन् । बुधवार र शुक्रवार दुवै दिनको नाराबाजीमा उनीहरू उठे मात्र, बेल घेराउ गर्न पुगेनन् ।

अन्तिम अवस्थामा नेता नेपालको साथ छोडेका दश भाइ सांसदहरूको यस्तो रवैयाप्रति ओली भने आक्रोशित बनेका छन् । शुक्रवारको बैठकपछि बाहिर निस्किने क्रममा ओलीले भुसाल र भट्टराईलगायत केही नेताहरूसँग तपाईंहरू सक्रिय बनेको खै भनेर प्रश्न गरेका थिए ।

ओलीको प्रश्न सुनेका एक सांसदले सूत्रन्यूजसँग भने – ‘अध्यक्षले त्यस्तो प्रश्न गरेपछि हामी एकछिन चुप भयौं । हामीमध्ये केही त देउवालाई प्रधानमन्त्री बनाउन परमादेश चाहिन्छ भन्दै सर्वोच्च अदालत पुगेका सांसद पनि हौँ । गरौंला नि भनेर हामी छुट्टियौ ।’

बुधवार सञ्चारकर्मीहरू सामू कुरा गर्दै योगेश भट्टराईले तत्कालीन एमालेकै १४ सांसदहरूलाई पदमुक्त गर्ने माग आफ्नो मनमा नआएको प्रतिक्रिया दिएका थिए । उनीसँग नेकपा एकीकृत समाजवादीमा लागेकी रामकुमारी झाँक्री पनि सँगै थिइन् ।

एमालेका ओलीपक्षीय सांसदहरूले सभामुखविरुद्ध नाराबाजी गरिरहँदा विगतमा नेपाललाई सहयोग गरेका नेताहरू मौन बस्नुलाई अर्थपूर्ण रूपले हेरिएको छ । विभिन्न सञ्चारमाध्यमहरूमा भुसाललगायत अन्य केही सांसद एकीकृत समाजवादीतिरै फर्किने चर्चा पनि चलिरहेको छ ।

गत असार २७ गते जारी गरिएको दश बुँदे सहमति कार्यान्वयन गर्न ओली अझै तयार नभएको निष्कर्षका साथ मध्यमार्गी नेताहरू सक्रियताका साथ संसद अवरुद्ध गर्ने प्रक्रियामा सहभागी नभएको सहजै बुझ्न सकिन्छ । तत्कालीन नेकपा बन्नु अघि २०७५ सालको जेठ २ गतेका संरचनाहरू ब्युँताएर पार्टी सुचारू गर्नुपर्ने मध्यमार्गी नेताहरूको मागलाई ओलीले ‘बाहियात’ भन्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट