के भन्छिन् सभामुखको टाउको फुटाउने योजना बनाएकी एमाले सांसद शर्मा ?-Sutra News

के भन्छिन् सभामुखको टाउको फुटाउने योजना बनाएकी एमाले सांसद शर्मा ?

शुक्रबार, २५ भाद्र २०७८

शुक्रबार, २५ भाद्र २०७८

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अनौठो दृश्य देखियो । सभामुखप्रति रुष्ट एमाले सांसदहरू एक अर्काको बुई चढेरसमेत रोष्ट्रम कब्जा गर्ने प्रयासमा देखिए । मर्यादापालकहरूसँग एमाले सांसदहरूको निकै ठूलो घम्साघम्सी चलेको थियो ।



एमालेले कारवाही गरेका १४ सांसदहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगरेको भन्दै यतिबेला ओली समूहका सांसदहरू रुष्ट छन् । बुधवार बसेको प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकमै ट्रेलर देखिएको थियो । सांसद गंगा चौधरी एक्लै रोष्ट्रममा चढ्ने प्रयास गरेकी थिइन् ।

शुक्रवारको बैठकमा एमाले सांसद रेखाकुमारीले माइकले सभामुख सापकोटा र अर्थमन्त्री जनार्दन शर्मालाई हान्ने योजना नै भएको खुलासा गरिन् ।

संसदीय मर्यादाविपरित सांसदहरूले सभामुखलाई नै हान्ने योजना रहेको खुलासासमेत गर्नुलाई संसदीय प्रणालीमा निकै विवादित रूपमा हेरिएको छ ।

सांसद शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको बस्ने कुर्चीको टेबलमा रहेको माइक नै थुतेर सभामुखको टाउकोमै हान्ने प्रयाससमेत गरेकी थिइन् । उनले पछि अर्थमन्त्री या सभामुख जो भेटिन्छ उसैको टाउको फुटाउने योजना रहेकोसमेत खुलासा गरिन् । तर मर्यादापालकका कारण उनको योजना भने सफल हुन सकेन ।

बैठकपछि पत्रकारहरूले माइक किन तान्नुभएको भनी सोधेको प्रश्नमा उनले भनिन् – ‘टाउको फुटाउने अवस्था थियो, टाउको फुटाउने । यस्तो गैरसंवैधानिक गतिविधि गर्न हुँदैन । संसदको मर्यादा हुन्छ ? त्यो मर्यादा, पदीय मर्यादा (सभामुख)ले राख्न सक्नुभएन । त्यसको सशक्त विरोध गर्नुपर्छ हाम्रो योजना थियो ।’

उनले माइकमात्र होइन, जे पायो त्यसैले सभामुखको टाउको फुटाउने आफ्नो योजना रहेको बताइन् । ‘माइक, माइ ..जे पायो त्यहीले टाउको फुटाउने सोचेका थियौं । फुटाइदिन्थ्यौं,’ शर्माले सगर्व पत्रकारलाई यस्तो भनिन् ।

पत्रकारले अर्को प्रश्न सोधे- ‘के यो चाहिं संसदीय मर्यादा हो ?’

उनले भनिन् – ‘पहिला गल्ती कल्ले गरेको ? चोरबाटोबाट पेश गर्न मिल्छ ? माइकले हान्ने योजना नै थियो । सभामुखलाई हान्थ्यौं, अर्थमन्त्रीलाई हान्थ्यौं ।’

पत्रकारको पुनः अर्को प्रश्न सोधे – ‘त्यसरी संसद चल्छ त ?’

उनले भनिन् – ‘यसरी चल्छ त ? एउटा प्रतिपक्षले विरोध गरिरहेको अवस्थामा सदन चल्न सक्छ ?’

त्यसपछि पत्रकारले सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाका बारेमा प्रश्न गरे । उनले भनिन् – ‘संसदको पनि नियम छ । तर सभामुखले त्यो पदीय मर्यादा राख्नुभएन । दलीय व्यवस्थामा दलले कारबाही गर्न पाउँछ । दलले कारबाही गरेपछि सभामुखलाई पार्टीले कारबाही गरेको छ भनेर जानकारी गराइयो । तर सभामुखले रोकिदिए ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट