नसर्ने रोग नियन्त्रणका लागि के गर्ने ?-Sutra News

नसर्ने रोग नियन्त्रणका लागि के गर्ने ?

शुक्रबार, २५ भाद्र २०७८

शुक्रबार, २५ भाद्र २०७८

काठमाडौं- विश्व स्वास्थ्य संगठनले दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूलाई नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका एकवद्ध हुन आग्रह गरेको छ ।



यस क्षेत्रमा हुने मृत्यु मध्ये दुई तिहाईको ज्यान नसर्ने रोगका कारण गइरहेको डब्लूएचओले जनाएको छ । नसर्ने रोग नियन्त्रणका लागि दक्षिणपूर्वी एसियाका राष्ट्रहरूलाई थप जोड दिन डब्लूएचओले आग्रह गरेको छ । नसर्ने रोगले कोभिड-१९ को जोखिम बढाएको बैठकले निष्कर्ष निकालेको छ ।

‘कोभिड-१९ महामारीले नसर्ने रोगसहित बाँचिरहेका व्यक्तिहरूको संवेदनशीलतालाई थप उजागर गरिदिएको छ । गम्भीर रोग तथा मृत्युको जोखिम बढ्नुको अलावा, अत्यावश्यक सेवाहरू अवरुद्ध हुनाले नसर्ने रोगहरूको नियन्त्रणमा हासिल गरिएको प्रगति सुस्त भएका छन्’,  दक्षिणपूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल सिंहले भनिन् ।

मुटु सम्बन्धी रोग, क्यान्सर, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगहरूको नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सिंहले बताइन् । सदस्य राष्ट्रहरूबीच आजको बैठकमा दिगो विकास २०३० का लक्ष्य हासिल गर्नका लागि नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका विषयमा छलफल भएको थियो ।

सदस्य राष्ट्रहरूले आँखा तथा मुखको एकीकृत स्वास्थ्य स्याहार र त्यसका लागि क्षेत्रीय कार्य योजना विकास गर्ने सम्बन्धमा पनि छलफल गरेका छन् । मुखको क्यान्सर सबैभन्दा बढी पाँच क्यान्सरमध्ये रहेको छ ।

यस क्षेत्रमा सन् १९९० र २०१५ को बीचमा अन्धोपन तथा मध्यमदेखि गम्भीर दृष्टि दोषको दर घटेको केही प्रमाणहरू छन् । तथापि, विश्वको औसतभन्दा यस क्षेत्रको दर उच्च रहँदै आएको छ ।

मोतिबिन्दुको प्रभावकारी शल्यक्रियाको दर लक्ष्यभन्दा कम रहेको छ । सन् २०२० मा गरिएको मुख सम्बन्धि स्वास्थ्य नीतिहरूको अवस्था विश्लेषणले केही प्रगतिभएको देखाएको भएता पनि सन् २०२५ का लक्ष्यहरू भेट्नका लागि अझ धेरै अन्तर विद्यमान रहेको देखाएको छ ।

यस क्षेत्रको एक चौथाइ वयस्क जनसंख्या उच्च रक्तचापबाट पीडित छ भने प्रत्येक १२ जना वयस्कमध्ये एक जनालाई मधुमेह छ । समितिको ७५औं बैठक सन् २०२२ सेटम्बरमा भुटानमा हुने निर्णय गरिएको छ । यही भदौ २२ गतेदेखि सुरु भएको बैठक आज सकिएको छ ।

बैठकमा दक्षिणपूर्वी एसिया क्षेत्रका नेपाल, भारत, भुटान, श्रीलंकासहित १० देशका स्वास्थ्यमन्त्रीहरू सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट