काठमाडौं- प्रधानमन्त्री शेरवहादुर देउवासँग मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले भेट गरेकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा एमसीसीबाट नेपालको आर्थिक विकासमा हुन सक्ने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री देउवाले सरकार र एमसीसीबीच सन् २०१७ मा सम्पन्न अनुदानसम्बन्धी सम्झौता अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल गरेको बताएका थिए ।
एमसीसीका उपाध्यक्ष सुमारले उक्त सम्झौता संसदबाट छिटो अनुमोदन हुने विश्वास व्यक्त गर्दै सम्झौता नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।
उपाध्यक्ष सुमार हिजो (बिहीबार) काठमाडौं आएसँगै राजनीतिक भेटमा व्यस्त रहेकी छन् ।
उनले हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल तथा आज बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी थिइन् ।