इतिहासमा आज,विश्व नै स्तब्ध भएको त्यो दिन-Sutra News

इतिहासमा आज,विश्व नै स्तब्ध भएको त्यो दिन

शनिबार, २६ भाद्र २०७८

शनिबार, २६ भाद्र २०७८

न्युयोर्क- आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ को सेप्टेम्बर ११ मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो । हमलाले  विश्वलाई नै स्तब्ध पारेको थियो ।



अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार विमानलाई अपहरण गरी न्यूयोर्क र वासिंगटनका महत्त्वपूर्ण भवनमा जोताएका थिए । दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा बिस्फोट गराइएको थियो । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा बिस्फोट गराइएको थियो । १६ मिनेटपछि दोस्रो टावरमा ठोक्काइएको थियो ।

बिस्फोटपछि टावरमा दुई घण्टासम्म आागो लागेको थियो । एक सय दश तले दुवै भवन ढलेर खरानी भएका थिए । नौ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा जोतिएको थियो भने वासिंगटनतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको आकाशमा बिस्फोट भएको थियो । अपहरणकारी र यात्रुबीच विमानभित्र भनाभन हुँदा विमान आकाशमै बिस्फोट भएको थियो ।

ती सबै हमलामा १९ आक्रमणकारीसहित करिब ३ हजार जनाको मृत्यु भएको थियो । आक्रमणमा अर्बौ डलर क्षति भएको थियो । साउदी नागरिक ओसामा बिन लादेनको नेतृत्वको अतिवादी सञ्जाल अलकायदाले सो हमला गरेको थियो । आक्रमणमा संलग्न अन्य १५ जना पनि साउद अरबका थिए भने दुई जना युएई एक जना इजिप्सेली र अर्का लेबनानका थिए ।

हमलाको तीन सातापछि अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरेको थियो । बिन लादेनलाई पत्ता लगाउन र अल-कायदाको सञ्जाल ध्वस्त पार्न भन्दै तत्कालिन राष्ट्रपति जर्ज डब्ल्यू बुस प्रशासननले अफगानिस्तानमा आक्रमण सुरु गरेका थियो । आक्रमणकारीलाई अफगानिस्तानले संरक्षण गरेको अमेरिकी आरोप थियो । अमेरिकी आक्रमणपछि तालिबान सत्ताच्युत भएको थियो ।

अमेरिकी नेतृत्वको सो हमलामा अन्तर्राष्ट्रिय गठबन्धन सेनाले सहयोग गरेको थियो । सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारिदिएको थियो । अतिवादीबिरुद्धको दुई दशक लामो आक्रमणमा अमेरिका रित्तो हात लिएर यही ३१ अगस्टमा स्वदेश फर्किएको छ ।  अमेरिकी सेना स्वदेश फर्किन नपाउदै तालिबानले अफगानिस्तान कब्जा गरेको थियो । अहिले तालिबानले अन्तरिम सरकार घोषणा गरिसकेको छ ।

२० वर्ष लामो लडाइँमा तालिबानसहित अलकायदा आइएस जस्ता अतिवादी समूहका केही नेतालाई निशाना बनाउन सफल भए पनि अमेरिकाले खासै उपलब्धी पाउन सकेन । युद्वमा २४ सय अमेरिकी सेनाको मृत्यु भएको छ  । त्यस्तै युद्धमा ६९ हजार अफगानीको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट